दमक/
झापाको दमक स्थित रतुवा खोलाको उत्तर तर्फ छैट पुजा गर्ने घाट शानदारका साथ निर्माण भइरहेको छ । छैट पर्व तराईका मधेसी मुलले मात्रै मनाउने पर्व हो भन्ने कतिपयको बुझाईलाई यहाँ घाट निर्माणमा सहभागी पहाडी समुदायले जवाफ दिएका छन् ।
उनीहरुको उपस्थिती केवल मनोरञ्जन र रमाईलोका लागि मात्रै नभएर आस्था र विस्वासमा पनि छ ।
झापाको महेन्द्र राजमार्ग उत्तर हुँदै बग्ने मेची, निन्दा, टिमाई, हडिया, बिरिङ, टाङटिङ, कन्काई, रतुवालगायत झापाका नदीहरूमा छठको रौनक छाएको छ ।
मधेशी-पहाडी मिलेर घाट सिंगारिरहेका छन् । छठ पर्व अब मधेश र निश्चित समुदायमा मात्रै सीमित रहेन, पहाड पनि उक्लिन थालेको छ ।
झापाको बाहुनडाँगीकी मीरा शर्मा पनि हरेक वर्ष छठमा सहभागी बन्छिन् । तर, ब्रतचाहिँ बस्दिनन् । अन्य ब्रतालुहरूसँग बराबरी सहभागी हुन्छिन् । उनी भन्छिन्, ‘छठ पूजामा सहभागी बन्दा रमाइलो लाग्छ, आनन्द मिल्छ ।’
मेचीनगर-४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार बाहुनडाँगी क्षेत्रमा मधेशी-पहाडी मिलेर छठ मनाउँछन् । स्थानीय टाइटिङ खोलामा घाट निर्माण गरिएको छ । छठमा पहाडी समुदायको सहभागिता बढ्दै गएको बताउँदै कार्कीले भने, ‘आगामी वर्षदेखि मेची नदीमै घाट बनाउने योजना छ ।’
झापाको धुलाबारी, भद्रपुर, बिर्तामोडमा माडवारीलगायतका मधेशी समुदायको बाक्लै बसोबास छ । पहाडीहरू पनि उनीहरूसँगै काँधमा काँध मिलाएर छठमा सहभागी बन्छन् । ‘छठ पर्व मधेशीहरूको मात्रै हो भन्ने बुझाइ अब फेरिँदै गएको छ, ।
बिर्तामोडको अदुवा, भद्रपुरको मेची, दमकको रतुवा र धुलाबारीको निन्दा नदीमा छठमा मधेशी-पहाडी श्रद्धालुको घुइँचो लाग्ने गरेको छ । कनकाई नगरपालिकाको सुरुङ्गाका स्थानीयहरू नजिकैको कनकाई नदीमा पूजा गर्न जान्छन् । कनकाईको पश्चिम-उत्तरी तटमा मधेशी-पहाडी समुदाय मिलेर घाट सिंगारिरहेको माइधारस्थित एक मन्दिरका पुजारी तुलसी दाहालले जनाए ।
मधेशी समुदायको भनेर मानिने छठ पूजाको स्वीकार्यता पहाडी समुदायमा पनि बढ्दै गइरहेकाले सहसंस्कृतिको एउटा हिस्सा बन्दै गइरहेको छ ।