"कोरोनाको जोखिम"

ट्राफिक चेकिङनै असुरक्षीत

झापा
कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरस नेपालमा पनि देखिएपछि नागरिकमा त्रास थपिएको छ ।

कोभिड महामारीका कारण त्राहिमाम् बनेका नेपालीले जेनेतेने कोभिड विरुद्धको भ्याक्सिन लगाएर सुरक्षित रहन सकिन्छ भन्ने आशा गरेका थिए ।

तर, कोभिडको नयाँ भेरियन्ट देखिएपछि नागरिकमा थप त्रास बेढेको छ । लामो समय कोभिडका कारण शिथिल बनेको नागरिकको दैनिकी बिस्तारै सहजता तर्फ उन्मुख थियो । कोभिडको सङ्क्रमण कम हुँदै गएपछि नागरिकको दैनिकी पुरानै लयमा फर्कँदै गएको थियो । तर, पुनः नयाँ सङ्क्रमण देखिएपछि आम नागरिक त्राहिमाम् अवस्थामा पुगेका छन् ।

अहिले पनि कोरोनाको जोखिम उत्तिकै छ । कोरोना सङ्क्रमणको सम्भावना हटिसक्यो भन्दै निस्फिक्री ढङ्गले हिँड्न सक्ने अवस्था बनिसकेको छैन । कोरोनाको जोखिमबाट बच्न अधिकांशले मास्क लगाएको देखिन्छ । तर, सवारी साधनका चालकहरूलाई ट्राफिक प्रहरीले गर्ने मापसे चेकको बेलामा मास्क खोलेर ब्रेथलाइजरमा फुक्नु साह्रै जोखिमपूणर् हुन सक्ने बताइएको छ ।

सवारी चालकलाई चेक गरिने ब्रेथलाइजरलाई कुन बेला निर्मलीकरण गर्न भ्याइएला ? अनि कहिले र कसरी गरिएको छ भन्ने प्रश्न उठ्न थालेको छ । अहिले त्यही प्रश्न सवारी चालकहरूलाई पिरोलेको हो । त्यसै कारण कोरोनाको जोखिम पनि यसबाट उच्च हुने चालकहरूको भनाइ छ ।

मादक पदार्थ सेवन गरेको छ कि छैन भनेर जाँच गर्ने कार्यलाई निरन्तरता दिइएको ट्राफिक प्रहरीको भनाइ छ । मापसे चेक गर्ने क्रममा ट्राफिक प्रहरीले ब्रेथलाइजरको प्रयोग गर्छ । ब्रेथलाइजरमा सामान्य दूरीबाट चालकलाई फुक्न लगाएर मापसे चेक गरिन्छ ।

मापसे गरे वा नगरेको सडकमा छुट्याउने अन्य विधि नभएकाले ब्रेथलाइजरको प्रयोग गर्नुपरेको ट्राफिक प्रहरीले बताएको छ । ब्रेथलाइजर प्रयोग गर्दा कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने दाबी ट्राफिक प्रहरीको छ ।

ट्राफिकका अनुसार ब्रेथलाइजरलाई निर्मलीकरण गरेमा मदिरा सेवन गरेको वास्तविक अवस्था देखिँदैन । त्यसैले ब्रेथलाइजरको पाइप निकालेर फाल्ने गरिएको ट्राफिक प्रहरीको दाबी छ ।

Share: