काल्पनीक एमजी रोड खारेज गर

विराटनगर/
राजनराज शिवाकोटी र मेलिना राईले चलचित्र ‘हजार जुनीसम्म’ का लागि गाएको यो बहुचर्चित गीतले वणर्न गरेको रोड सिक्किमा छ। राजधानी ग्याङटोकको मध्य भागमा रहेको ‘एमजी रोड’ सवारीसाधन विहीन हुन्छ। सधैं सफाचट हुने भएकैले एमजी रोड घुमन्तेहरूको रोजाइमा पर्छ।

विराटनगरमा पनि ठ्याक्कै त्यस्तै रोड बनाउने योजना दुई वर्ष अघि महानगरले अघि सारेको थियो। करिब डेढ सय मिटर सडकलाई एमजी रोड जस्तै बनाउने गरी संरचना पनि बनिसकेको छ। तर, यतिबेला आएर भने योजना नै रद्द गर्न माग गर्दै विराटनगरमा आन्दोलन सुरू भएको छ।

निर्माण सुरूदेखि नै आलोचना र विवादको केन्द्रमा पर्दै आएको विराटनगरको ‘प्रस्तावित एमजी रोड’ को योजना नै बदर गर्न माग गर्दै स्थानीयबासी आन्दोलित बनेका छन्।

विराटनगरको पहिचानका रूपमा रहेको हिमालय रोडको पहिचान नामेट पारेर भारत सिक्किमको ‘एमजी रोड’ को काल्पनिकता खडा गरिएको भन्दै स्थानीयबासी महानगरविरूद्ध आन्दोलनमा उत्रेका हुन्। आइतबारदेखि सडकमा ओर्लेका स्थानीयबासी र व्यवसायीले हिमालय रोडकै पुनःस्थापना माग गरेका हुन्।

‘हिमालय रोड हाम्रो महानगरको सबैभन्दा व्यस्तमध्येको एउटा रोड थियो,’ आन्दोलनकारीको अगुवाइ गरेका स्थानीय विनोद पोद्धारले भने, ‘महानगरले त्यति पुरानो पहिचानको हिमालय रोडको ठाउँमा काल्पनिक एमजी रोड बनाउने भनेर लगानी गर्यो। अहिले प्रयोगविहीन छ। उल्टै सास्ती दिने ठाउँ बनेको छ।’

विराटनगरस्थित ट्राफिक चोकभन्दा पश्चिम र महेन्द्र चोकभन्दा पूर्वको रोडलाई हिमालय रोड भनिन्छ। पूर्वकै पुरानोमध्येको हिमालय सिनेमा हलतिर जाने यो बाटोको नाम हिमालय रोड रहेको स्थानीयबासी बताउँछन्।
त्यसो त महानगरले अघि सारेको योजनामा एमजी रोड भनेर कतै उल्लेख छैन।

‘भेहिकल फ्रि रोड एन्ड ब्युटिफिकेसन अफ हिमालय रोड’ नाम योजनाको भए पनि महानगरका मेयरदेखि कर्मचारीसम्मले सुरूदेखि नै यहाँ एमजी रोड बनाउने भन्दै आएको र सार्वजनिक रूपमा पनि भनेकाले एमजी रोडकै नामले यसको चर्चा बढी छ।
यसअघिका मेयर भीम पराजुलीले हिमालय रोडलाई सिक्किमको एमजी रोड जस्तै बनाउने भन्दै योजना अघि सारेका थिए। उनको योजनाको सुरूमै विरोध पनि भएको थियो। तर स्थानीयबासीको विरोधका वावजुद महानगरले प्रस्तावित एमजी रोडको काम सुरू गरेको थियो।

तत्कालीन मेयर पराजुलीले आफ्नो कार्यकालको अन्तिम समयमा थालेको योजनाले विराटनगरको व्यस्त सडकलाई साँघुर्याएको भन्दै तीव्र विरोध भएको थियो। अहिले महानगरमा कांग्रेसकै नागेश कोइराला मेयर छन्, पूर्व मेयर पराजुली प्रदेशसभा सदस्य छन्।

उनीहरू दुवैको कार्यकालमा गरी एक करोड ८३ हजार भन्दा बढी लगानीमा रोडमा फाउन्टेन पार्क, फलैंचा बनेको छ। तर, चालु भएको छैन। बाटोमा टाली बिछ्याइएको छ। तर, फलैंचाका कारण सडक साँघुरो भएर बाइक पार्किङ थलोमा परिणत भएको छ।

स्थानीयबासी शंकर ओझा एमजी रोडमा निर्माण गरिएका पानीको फोहोरास्थल मच्छडको खानी बनेको बताए। बत्ती बल्न नसकेको भन्दै नाम मात्रको पर्यटकीय स्थलको कुनै काम नरहेको उनको भनाइ छ। एमजी रोड बनाउने भनेर गरिएको पार्कको ढाँचाले व्यापार पनि चौपट भएको स्थानीयबासी बताउँछन्।

विराटनगर महानगरपालिकाको वडा नं ९ स्थित मुख्य व्यापारिक केन्द्र हिमालय रोडमा ६० भन्दा बढी पसल तथा सटर सञ्चालनमा छन्। एमजी रोड खारेज गर्न र हिमालय रोड कायम नभएसम्म आन्दोलनलाई निरन्तरता दिने स्थानीयबासीको भनाइ छ।

साँघुरो र छोटो बाटोलाई पर्यटन केन्द्र बनाउने भन्दै महानगरले काम अघि बढाएपछि अहिले यो सडक मेला र दलहरूको कार्यक्रमस्थल पनि बनेको छ।

विराटनगर महानगरपालिकासँग अनुमति लिएर विभिन्न संघ संस्थाहरूले चाडपर्वको समयमा मेला लगाउने गरेका छन्। यस बाहेक विभिन्न राजनीतिक दलले समय समयमा सभा सम्मेलन गर्दा ध्वनी प्रदुषण पनि भएको स्थानीयबासीको गुनासो छ।

‘हाम्रो व्यापार व्यवसाय पनि यसले चौपट पारेको छ,’ स्थानीय व्यवसायी लुईटेलले भने, ‘अब हिमालय रोड कायम नभएसम्म हामी सधैं आन्दोलनमा उत्रनेछौं।’

Share: