विराटनगर । विराटनगर महानगरपालिका–९ मा रहेको हिमालय रोडमा बनाइएको संरचना (एमजी रोड कल्पना) बनिनसक्दै भत्काउन व्यापारीले माग गरेका छन् । तत्कालीन विराटनगर प्रमुख भीम पराजुलीको अगुवाइमा २०७८ सालमा १ करोड ८३ हजारमा महेन्द्र चोकदेखि ट्राफिक चोकसम्मको क्षेत्रलाई सिक्किमको एमजी रोडजस्तै बनाउने भन्दै संरचना निर्माणको ठेक्का लागेको थियो ।
उक्त रोडमा फाउन्टेन पार्क, फलैँचा बने पनि व्यवस्थित छैनन् । महानगरले सौन्दर्यीकरण गरेको १२० मिटर सडक क्षेत्रमा ६० वटा बढी व्यापारिक पसल र सटरहरू छन् । ती सटरहरू सञ्चालन गर्ने व्यापारीले आज पसल बन्द गर्दै प्रदर्शन गरेका छन् । उनीहरूले महानगरपालिकालाई ज्ञापन पत्र दिँदै उक्त क्षेत्रको सडक पुरानै अवस्थामा ल्याउनु पर्ने माग गरेका छन् ।
आन्दोलनका अगुवाइ गरिरहेको स्थानीय व्यापारी भागवत नेपालले के के न बनाउँछौँ जस्तो गरेर सडकलाई कुरूप पारिएको बताए । ‘सौन्दर्यीकरण यस्तो हुँदैन, यो पार्किङ स्थलजस्तो बनेको छ । मान्छे हिँडडुल गर्नसक्ने अवस्था पनि छैन । सवारी साधन दोहोरो आवतजावत गर्न सक्दैनन् । यो कहाँको एमजी रोड हो कस्तो एमजी रोड हो ?,’ उनले भने, ‘यसलाई पूर्ववत् अवस्थामा फर्काइयोस् ।’
यसअघि उक्त संरचना निर्माणको सुरु हुँदै गर्दा पनि स्थानीय नागरिक समाजले विरोध गरेको थियो । नागरिक अगुवा दिनेश श्रेष्ठले सानो भूगोलमा पैदल रोड बनाउने भन्ने कुरा बौद्धिक टाट पल्टाई भएको बताएका थिए । ‘यति सानो भूगोलमा हिँड्ने बाटो बनाउँछु भन्नु वौद्धिक टाट पल्टाईको चरम उत्कर्ष हो, उनले भनेका थिए, व्यापार, ट्राफिक व्यवस्थापनमा यसले पार्ने असरको बारेमा सोचेको पाइएन, यो विगतका विभिन्न आन्दोलन÷जन–आन्दोलनको गौरवपूर्ण इतिहास बोकेको ठाउँ हो,’ श्रेष्ठले भने ।
महानगरले भने फुटपाथ समेत अतिक्रमण नहुने गरी आकस्मिक वाहनको आवागमनका लागि पर्याप्त ठाउँ छुट्याएर निर्माण कार्य अघि बढाएको जनाएको छ । विराटनगरकै निर्माण कम्पनी कला विल्डर्सले ३७.५३ प्रतिशत कम कबोल अङ्कमा योजनाको ठेक्का सम्झौता हात पारेपछि काम सुरु भएको थियो ।
तर, अहिले एमजी रोडमा निर्माण गरिएका पानीको फोहोरास्थल फोहोरको पोखरी भएको छ भने राखिएका बत्ती बल्न सकेको छैन । एमजी रोड बनाउने भनेर गरिएको पार्कको ढाँचाले व्यापार पनि चौपट भएको स्थानीय बताउँछन् ।
ठेकेदारले सम्झौता अनुसारको पहिलो चरणको काम सकेको छ । दोस्रो चरणको कामका लागि भने महानगरले चासो दिएको छैन । तर, व्यापारीले भने थप काम नगर्न बरु पूर्ववत् अवस्थामा फर्काउनु पर्ने माग गरिरहेका छन् ।