इलाम/
इलाको देउमाई नगरपालिकाले अन्य सामाजीक सुरक्षा भत्ताको दायरा बढाएको छ । संघिय सरकारले एकल महिलाहरु तथा जेष्ठ नागरिकका साथै तहगत अपाङ्गता भएकाहरुलाई मात्रै सामाजीक सुरक्षा भत्ता दिदै आएकोमा त्यसको दायरा बढाएर नयाँ कार्यविधी बनाएको छ । नगरपालिकाले एकल पुरुष भत्ता वितरणसम्बन्धी कार्यविधि पारित गरी यो एकल पुरुष, अविवाहित महिला र तेस्रो लीङ्गी समेतलाई भत्ता दिन थालेको हो ।
नगरका ६० वर्ष उमेर पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष उमेर पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष उमेर पुगेका पुरुषलाई एक हजार मासिक भत्ता वितरण गर्दै आएको छ ।
गएको आर्थिक वर्ष २०७९/८० मा नगरभित्रका दुई सय सात जना एकल पुरुषलाई रु २४ लाख ८४ हजार भत्ता उपलब्ध गराएको लेखा अधिकृत गजेन्द्र येक्तेनले जानकारी दिए ।
चालु आर्थिक वर्षमा भने गत वर्षको तुलनामा एकल पुरुषको सङ्ख्या १० जनाले घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा एक सय ९७ जना एकल पुरुषले भत्ता लिएका छन् ।
एकल पुरुषको समेत जीवन सहज बनाउने उद्देश्यसहित एकल पुरुषलाई मासिक भत्ता दिन थालिएको देउमाई नगरपालिकाका प्रमख सूर्य पोख्रेलले बताए ।
त्यसैगरी देउमाई नगरपालिकाले ४५ वर्ष उमेर पुगेका अविवाहित महिला र तेस्रोलिङ्गीलाई भत्ता दिँदै आएको छ । ४५ वर्ष उमेर पुगेका अविवाहित महिलालाई मासिक एक हजार र तेस्रोलिङ्गीलाई मासिक पाँच सयका दरले उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षमा देउमाईका ८८ जना ४५ वर्ष उमेर पुगेका अविवाहित महिलाले रु १० लाख ५६ हजार पाएका छन् ।
चालु आर्थिक वर्षमा भने गत वर्षको तुलनामा दुईजना थप भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ९० जना ४५ वर्ष उमेर पुगेका अविवाहित महिलाले दुई लाख ७० हजार भत्ता लिएका छन् । देउमाई नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ वर्ष उमेर पुगेका अविवाहित महिला भत्ताका लागि रु १० लाख विनियोजन गरेको छ । तेस्रोलिङ्गीहरू भने भत्ता लिन कोही नआएको लेखा अधिकृत येक्तेनले बताए ।