कोशी प्रदेश : सत्ता गठबन्धनको बहुमत गुम्ने भएपछि सभामुख चयनको प्रक्रिया पछि पर्यो

बिराटनगर/
साउनको १६ गते तत्कालीन सभामुख बाबुराम गौतमले सभामुखबाट राजीनामा दिए कोशीमा सभामुख पद खाली रहेको छ । गौतमले राजीनामा दिएर नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन मत हालेका थिए । सभामुख पद रिक्त भएपछि उप सभामुख सृजना दनुवारले सभा चलाउँदै आएकी छन् ।

 

सभामुख पद खाली भएको विषयमा सदनमै कुरा उठेपछि पुसको पहिलो साताबाट कोशीमा सभामुख चयनको प्रक्रिया सुरु गर्ने दलहरूका बिचमा सहमति भएको थियो । कोशी प्रदेशको सत्तामा रहेका प्रमुख दल नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले राप्रपालाई सभामुख पद दिन आफूहरू तयार भएको बताएपनि राप्रपाले भने सभामुख पद नलिने बताएको छ । जसले गर्दा कोशी प्रदेशमा सभामुख चयनको प्रक्रिया तत्काल अगाडि नबढ्ने भएको छ ।

सरकार जोगाउन राप्रपालाई च्याखे दाउँ

कोशी प्रदेशमा राप्रपाको ६ सिट रहेको छ । सभामुख दिए सरकारमा पनि आउने भन्दै गठबन्धन दलले राप्रपालाई सभामुख दिने सहमति गरेका थिए ।

राप्रपा सरकारमा नआए पनि सत्ता गठबन्धनको बहुमत भने पुग्ने छ । सत्ता गठबन्धनसँग अहिले ४७ सिट रहेको छ । सत्ता गठबन्धनकै दलले सभामुख पद लिए उनीहरूसँग मतदानका बेला ४६ सिट मात्रै हुने छ । कोशी प्रदेशमा बहुमतका लागि ४७ सिटको आवश्यकता पर्दछ ।

सत्ता गठबन्धनको बहुमत गुम्ने भएपछि सभामुख चयनको प्रक्रिया पनि पछाडि धकेलिने देखिएको हो ।

Share: