केपी ओलीले सिलान्यास गरेको सन्थाल बस्ती किन नबनेको ? ठेक्कानै रद्ध गर्ने सम्मको तयारी

दमक/
२०७७ फागुन १८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकिकृत सन्थाल बस्तीको सिलान्यास गर्नु भएको थियो ।
त्यसबेला १८ महिना भीत्रैमा त्यहाँ सन्थाल बस्ती बनी सक्नु पर्ने थियो । सो सिलान्यास पछि त्यहाँ २४ असार २०७८ मा १२३ वटा सन्थाल समुदायको स्थानीय सिप र कलाको प्रयोग गरी भान्सासहित तीन कोठा र शौचालयसहितको घर बनाउने सम्झौता भयो ।

भ्याटबाहेक ७ करोड ८६ लाख ३४ हजार ३ सय ४७ रुपैयाँ २३ पैसामा काठमाडौँको सगुन क्षितिज अग्रिम जेबीसँग ठेक्का सम्झौता भएको थियो । तर, सम्झौता अवधि सकिएको तीन वर्ष बित्यो तर बस्ति बनेन ।

 

सङ्घीय कार्यान्वयन इकाई मोरङका सूचना अधिकारी इन्जिनियर अशोक रामका अनुसार उक्त बस्ती निर्माणको सम्झौता अवधि २४ असोज २०८० सम्म थियो । सन्थालहरुले सुविधायूक्त र सुरक्षीत आवासमा बस्ने सपना अहिले तुहिइएर जाने करिव पक्का भएको छ ।

उर्लाबारीको सन्थाल बस्तीको बनाउने योजनाका लागि भने स्रोत सुनिश्चित गरिएको थियो । तर अहिलेको सरकारले त्यहाँको साइड क्लियर गराउन नसक्दा निकै महत्वपूणर् योजना तुहीएको भन्दै स्थानीबासीहरु आक्रोसीत भएका छन् ।

उर्लाबारी-८ का वडा अध्यक्ष कुलबहादुर कार्कीका अनुसार उर्लाबारी-८ र ९ को सिमानामा रहेको रातोहोली खोल्सी किनारमा निर्माण गर्न लागिएको एकीकृत बस्तीको जग्गा ऐलानी भए पनि स्थानीयले वर्षौँदेखि भोग चलन गर्दै आएका छन् ।

आफूहरूले धेरै वर्षदेखि भोग चलन गर्दै आएको जग्गा भएकाले उचित क्षतिपूर्तिसहित आफूहरूलाई सरकारले सम्बोधन गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

काम अगाडि बढ्न नसकेको विषयमा सहरी विकास मन्त्रालयका उप-सचिव डिल्लीराज श्रेष्ठ र सिडिआइ राजेन्द्र खतिवडासहित प्राविधिक टिमले स्थलगत निरीक्षण गरेको थियो । निरीक्षण पछि सोमबार बसेको बैठकले ठेक्का प्रक्रिया रद्द गर्न सुझाव दिएको छ ।

उक्त सुझाव अनुसार सङ्घीय आयोजना कार्यान्वयन इकाई मोरङले प्रक्रिया अगाडि बढाउने तयारी सुरु गरिएको आयोजना प्रमुख सुरेन्द्र कुमार साहले बताए ।

सन्थाल जातिका अगुवा बुद्धिलाल सोरेनले सरकारले निर्माण गरिदिएको घरमा बस्ने सपना अधुरै रहेको गुनासो गर्नुभयो । ‘ठुला नेताहरू बिच समन्वय नहुँदा हामी अन्यायमा पर्यौं । घर बन्ने सपना अधुरै भयो ।

दयनीय अवस्थामा खोला किनारामा बसोबास गर्दै आएका सन्थाल बस्तीलाई व्यवस्थित बस्ती विकास गरी स्थानान्तरण हुने चाहना आशै आसमा टुटेको र नेताहरूले यसैगरी धेरै पटक धोका दिएको उहाँले सुनाउनु भयो । ‘ओलीले केही गर्लान् भन्ने लागेको थियो तर अरु नेताले त्यो पनि गर्न दिएनन् । उहाँले बताउनु भयो ।

२०७४ सालमा बक्राहा खोलामा बाढी आएपछि धेरै सन्थाल परिवार विस्थापित भएका थिए भने अहिले पनि खोलाको किनारमा केही परिवार बसिरहेका छन् । निर्माणस्थल रातो होलीको उत्तर-दक्षिण फैलिएको सात सय ८० मिटर लम्बाइभित्र पर्ने ५२ हजार आठ सय २८ वर्ग मिटर जग्गामध्ये ३१ हजार सात सय ६८ वर्ग मिटरभित्र बस्ती विकास गरिने बताइएको थियो ।

सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन लगायतको निर्माण गर्ने गरी ‘मास्टर प्लान’मा उल्लेख गरिएको छ ।

 

ओलीले शिलान्यासको क्रममा पनि सन्थाल जातिको संस्कृति संरक्षणका लागि बाजागाजाको व्यवस्था मिलाउने बताएका थिए । त्यहीँ बाजा बजाएर नमुना बस्तीमा नाच्न तयार रहन उनको आग्रह थियो । तर, त्यहाँ घर नबन्ने भएपछि धेरै सन्थालहरूले अन्यत्र घर बनाएर बस्न थालेका छन् ।

Share: