दमकको बेलडाँगीमा कान्जुर पूजा हुँदै

दमकको बेलडाँगीमा कान्जुर पूजा हुँदै
दमक ।

झापाको दमक–३ बेलडाागीस्थित भुटानी शरणार्थी शिविरको ड्रुकसाङ् थार्पालिङ्ग सार्वजनिक बौद्ध गुम्बामा ६ दिने कान्जुर पूजा (विश्व शान्ति पूजा) हुने भएको छ ।
गुम्बा समितिले शनिबार गुम्बा परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार फागुन २ गते देखी ७ गते सम्म विश्व शान्ति पूजा हुने भएको हो ।
पत्रकार सम्मेलनमा आयोजक समितिले पूजा सम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गरेको थियो ।
गुम्बा समिति, पुनर्वासमा रहेका जिन्दाहरु र सम्पूर्ण लामागणहरुको संयुक्त आयोजनामा हुन गइरहेको पूजाको समय तालिका पनि सार्वजनिक गरिएको हो ।
अनुमानित २५ लाख खर्च हुने सो पूजाका लागि आवश्यक तयारी थालिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

 

पूजाको सबै खर्च पुनर्वासमा हुने भक्तजनहरुले बेहोर्ने भए पनि स्वेच्छा र पूजाबाट हुने बचत रकम भने यहिँ गुम्बाको भौतिक संरचनामा खर्च गरिने गुम्बा समितिका अध्यक्ष राजमान गुरुङले जानकारी दिए ।

 

‘विशेषतः पुनर्वासमा रहेका भुटानी शरणार्थीहरुले बेलडाँगीलाई थकाई मार्ने चौतारोको रूपमा हेर्छन् भने यस गुम्बालाई आपसी सद्भावको रूपमा हेर्ने गरेका छन्’, उनले भने ।

विश्वभर हिंसा, अशान्ति, युद्धहरु भइरहेको र अज्ञान प्राणी तथा मानिसहरुको सुखमय जीवनको निम्ति पुजा गर्न लागेको आयोजक समितिको भनाइ छ ।

 

पूजामा ५० जना लामाहरुले पढ्ने भए पनि थप एक सय जना अन्य लामाहरु पनि रहने छन् । पुनर्वास विशेष गरी अमेरिकाबाट पाँच सय जनाको सहभागिता रहने जनाएको छ ।

 

कार्यक्रम संयोजकमा अमेरिकामा बसोबास गरिरहेका डिबी गुरुङ, कर्मा लामा (कुल बहादुर) र नरेश लामा रहेका छन् ।

 

अहिलेसम्म गुम्बा निर्माणलगायत कार्यका लागि पुनर्वासबाट प्राप्त सहयोगको आम्दानी खर्च गुम्बा समितिका कोषाध्यक्ष सन्तोष गुरुङले सार्वजनिक गरेका थिए ।

Share: