हात्ती किन शहर पसीरहेछ ?

दमक/

“हात्ती आफैमा आक्रामक प्राणी होइन। उसको बासस्थान र आहारमा व्यवधान भएको महसुस भयो भने उसले आक्रामक व्यवहार देखाउँछ,” यो भनाई हो झापाको मेचिनगर नगरपालिका वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्कीको ।
जनप्रतिनिधि हुनुअघि बिगत दुई दशकदेखि उहाँ हात्तीबाट मानिसको जनधनमा हुने क्षति न्यूनीकरणका लागि विभिन्न नयाँ अभ्यासहरु भित्राउने अभियन्ताको रुपमा चिनिनुहुन्छ ।

हात्तीको क्षति न्यूनीकरणका लागि मानव-हात्ती सहअस्तित्वको नीति अख्तियार गर्न आवश्यक रहेको कार्कीको भनाई छ ।

वडाध्यक्ष कार्की भन्नुहुन्छ-“मान्छे र हात्तीबीच द्वन्द्वको सबैभन्दा लामो इतिहास भएको बाहुनडाँगीमा हामीले सहअस्तित्वको नीतिलाई व्यवहारमा लागू गर्न थालेका छौं । यसले क्षति न्यूनीकरणमा महत्तवपूणर् सहयोग पुगेको छ ।”

पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यसवर्ष मानव-हात्ती द्वन्द्वका हिंसात्मक घटना तीब्र रुपमा बढेको छ । आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र त्यसलाई जोगाउने मानवीय प्रयत्नका कारण हिंसात्मक द्वन्द्व निम्तिने गरेको विज्ञहरु बताउँछन् ।

हात्ती सम्बन्धी अध्येताहरु झापा र मोरङको धेरै भूभाग कैयन पुस्तादेखि हात्तीको विचरण क्षेत्र रहेको मान्छन् । हात्तीको पुरानो बासस्थान भनिएको उहिलेको जंगली ठाउँमा अहिले मानव बस्ती बाक्लिइसकेको छ । बितेको साठी वर्षमा जंगल मासिएर मान्छेको बस्तीले ढाकिसकेको अवस्था छ ।

तीक्ष्ण स्मरण शक्तियुक्त प्राणी भएको हुँदा हात्तीले आफ्नो पुर्खादेखिको विचरण स्थानमा स्वतन्त्रतापूर्वक डुलफिर गर्ने चाहना राख्ने गरेको हात्ती अध्येता शंकर लुइँटेल बताउनुहुन्छ । “पुरानो विचरण क्षेत्रमा अहिले मानव बस्तीले ढाकेको देखेर हात्तीमा क्रोध उत्पन्न हुन्छ,” लुइँटेल भन्नुहुन्छ-“यसकारण हात्तीले बस्ती पसेर घर भत्काउने गर्दै आएको छ ।”

हात्तीले आफ्नो पुरानो विचरणस्थल अतिक्रमण भएकोमा भन्दा बढी आफ्नो आहारमा मानिसले अवरोध पुर्याएको ठान्दा हिंसक व्यवहार प्रदर्शन गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

झापामा हात्तीले पहिलोपल्ट चार दशकअघि बाहुनडाँगीमा मानिसलाई आक्रमण गरी मारेको थियो । वर्षेनी बाहुनडाँगीमा ठूलो संख्यामा मानिसको मृत्यु हुने कारण हात्तीको आक्रमण भएको थियो । त्यहीकारण बाहुनडाँगी हात्ती पीडित क्षेत्रको रुपमा चिनिन पुग्यो ।

तर, सहअस्तित्वको नीति व्यवहारमा लागू गर्न थालिए पछिको बिगत पाँच वर्षमा बाहुनडाँगीमा एक जनाको पनि मृत्यु भएको छैन । हात्ती छेक्न सीमा क्षेत्रमा विद्युतीय तारबार लगाइएका कारण एक दशकदेखि भारतीय जंगलबाट आउने हात्तीको बथान मेचीको बगरमै रोकिने गरेका छन् ।

यो समाचार राष्ट्रिय समाचार समितीकालागि अम्बिका भण्डारीले लेख्नु भएको हो ।

Share: