Search
Close this search box.

सुजता ढुङ्गाना
झापा/
बिहानको ११ बज्दै थियो, नेपालको पूर्वी सिमाना मेची नदी पारी रहेको नेपाली गाउँ सिसौडाँगीबाट खोमनी यादव वारि आउँदै थिइन्। नदी तर्ने मनसायले किनारामा उभिएका पत्रकारहरूलाई उनले हातको इशाराले अलि परबाट स्कुटर तार्न भनिन्।

केही वेरमै उनले देखाएको बाटोबाट उनकी छोरी दिपा झोला बोकेर आइपुगिन्। आमाका हातमा रहेका रित्ता भाँडा लिइन्। आफूसँग भएको झोला दिइन् र बाटो लागिन्।

खोमनीका अनुसार, यो उनीहरूको दैनिकी हो। मेची नदीलाई उनीहरूले घर र कामबीचको सिमाना बनाएका छन् जहाँबाट खाना ल्याउने र रित्ता भाँडा लिएर फर्किने गर्छन्।
मेची वारी कालिकाझारमा उनीहरूको घर छ। पारी सिसौडाँगीमा दुई विगाह ऐलानी जग्गामा खेती। त्यही खेती गरेको भरमा उनीहरूको गुजारा चल्छ। “यो मेचीको पुलमा झोलुङ्गे पुल हाली दिएको भए खाना ल्याउने र पुर्‍याउने दैनिकी फेरिन्थ्यो होला”, खोमनी भन्छिन्।

मेची नदीमा पुल नबन्दा दैनिक कष्ट खप्ने खोमनीको परिवारमात्र होइन। यो त मेची नदीले छुट्याएका तीनवटा गाउँहरू ग्वालाबस्ती, सिसौडाँगी र झाडुबस्तीका बासिन्दाको साझा दुःख हो। तिनैमध्येका एक हुन्, सुधीर घोस।

८० वर्षीय सुधीरकी श्रीमती र तीन सन्तान भारतको बिहारमा बसोबास गरिरहेछन्। मेची किनारको दुःखले नै त्यहाँ पुर्‍याएको सुधीर बताउँछन्। आफू बसिरहेको नेपाली बस्तीमा कामको अवसर नपाएपछि छोराहरू ज्यामी कामका लागि बिहार पुगेको उनले बताए। माघ १४ गते घरैमा पुग्दा उनी छोरी सिपाली बसिरहेको बिहारको गाउँ गलगलिया जान तयार थिए।

“मेचीको पेटमा जन्मिएको म, मर्ने बेलामा मेची छोडेर कतै हिँड्दिन भनेको थिएँ, बुढी, छोरा छोरी सबै रिसाए”, सुधीरले सुनाए, “आज केटी (छोरी)ले मिठो खान बोलाएकी छ तर म भोली फर्कि हाल्छु, बुढेसकाल लागेको छ, कतिबेला मर्छु, मैले केटाहरूलाई यही जग्गामा जलाई देउ भनेको छु।”

पौडेर मेची नदी तर्दैमा उनको जवानी सकियो। २०६५ सालमा मेची नदी तर्न खोज्दा बाढीले झण्डै बगाएपछि भने पौडिने आँट पनि सेलाएको बताउँछन् उनी। गाउँकै मान्छेले बचाएपछि हरेक वर्ष असारमा मेची नदीलाई नै आमा मानेर पूजा गर्ने गरेको बताउँछन् उनी।

मर्नुअघि मेची नदी वारीपारीका दुई नेपाली गाउँ जोड्ने पुल बनेको हेर्ने रहर रहेको सुनाउँछन् उनी। भन्छन्, “खै अब मैले मेचीमा झोलुङ्गे पुल बनेको देख्न पाउँछु कि पाउँदिन? मैले पुल बनाउँछु भन्दै आउनेलाई भने भोट दिएको छु। उनीहरूले मेरो भोट झोलुंगे पुलका लागि थियो भन्ने चाल पाए की पाएनन्?”

मेची नदीमा एउटा झोलुंगे पुल पनि नहुँदा पारी सिसौडाँगीका नेपाली बासिन्दा शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताबाट पनि वञ्चित हुनुपरेको छ।

मेचीपारीका तीन बस्तीका बालबालिका पढाउने एउटा मात्रै विद्यालय छ, मेची प्राथमिक विद्यालय। ग्वालाबस्तीमा रहेको उक्त विद्यालयमा कक्षा २ सम्म मात्रै पढाई हुन्छ। त्यसपछि माथिल्लो कक्षा पढ्न मेची तरेर कालीकाझोडामा रहेको प्राथमिक विद्यालयमा जानुपर्ने बाध्यता रहेको विद्यालयकी शिक्षिका रमादेवी कोइराला बताउँछिन्। “तर, पुल नहुँदा अधिकांश बालबालिका बीचमै पढाई छोड्न बाध्य छन्,” रमादेवी भन्छिन्।

विद्यालयसम्म पहुँच नभएकैले पढाइ छोडेका एक विद्यार्थी हुन्, प्रदिप राजवंशी। “कहिले नेपाल त कहिले भारतको विद्यालय गर्दै कक्षा आठसम्म पढेँ,” प्रदिप भन्छन्, “भारतमा भाषा मिल्दैन, नेपालमा मेची तरेर जान सकिँदैन।”

मेची नदी तरेर नियमित विद्यालय जाने विद्यार्थी दुई, तीन जनामात्र रहेको ग्वालाबस्ती टोल विकास समितिका अध्यक्ष अमुल यादवले बताए। अमुल भन्छन्, “मेची वारिका विद्यालयमा कोठा लिएर राखेर पढाउन यस भेगका अभिभावको आर्थिक अवस्थाले पुग्दैन। नदी तर्न विद्यार्थी सक्दैनन्।”

यी तीन बस्तीका बासिन्दा स्वास्थ्य सेवाको पहुँचबाट पनि उसैगरी वञ्चित हुनुपरेको छ। मेची पारी कुनै पनि स्वास्थ्य संस्था छैन। बिरामीले सजिलै उपचार पाउँदैनन्। प्राथमिक उपचारका लागि समेत मेची तरेरै आउनुपर्ने भएकाले गर्भवती र सुत्केरी महिलालाई वर्षाको समयमा वारी बासस्थान खोजेर राख्ने गर्छन्।

“बिरामी हुँदा गाउँसम्म एम्बुलेन्स आउँदैन, बोकेर नै नदी तार्नुपर्छ”, खोमनीको दुखेसो छ। नदी तर्नुपर्ने बाध्यताकै कारण बिरामी हुँदा भारतीय मेडिकलहरूको भर पर्नुपरेको उनले सुनाइन्।

नेपाली भूमी भएर पनि देशबाट अलग्गिएका यी तीन बस्ती अवसर र बजारबाट पनि वञ्चित भएका छन्। न पसल छ न बेच्ने ठाउँ। अधिकांश घर टाटीले बनाइएका छन्। “हाम्रा घरहरूमा पानी चुहिन्छ, चुलोमा हत्तपत्त आगो बल्दैन, विहान खाए बेलुका के खाने भन्ने पीर हुन्छ”, झाडुबस्तीकी मदन पाहन भन्छन् ।

आफूले खेती गरी उब्जाएको अनारस र आलु बेच्न पनि भारतीय व्यापारीको भर पर्नुपरेको मदन बताउँछन्। उनका अनुसार भारतको अधिकारी बजार र बतासी पायक पर्ने बजार हो। मेचीवारीका कालिकाझार, भिन्डिबस्ती र फडानीबस्तीमा हाट लाग्ने गरेको भए पनि पुल नहुँदा टाढा पर्छ।

“हाम्रो सामान नेपाल लैजानका लागि ठुलो लागत लाग्छ, गाउँमा आउने कुनै बाटो छैन, कसरी नेपाली बजार लग्नु?” मदन भन्छन्, “हाम्रा लागि त के नेपाल के भारत?”

नेपाल-भारत सिमाना छुट्याउने जंगे पिलरले घेरिएका छन् यी तीन गाउँ। वर्षौंदेखि ती सीमास्तम्भको रक्षा गर्ने पनि यिनै गाउँका बासिन्दा हुन्। तर, राज्यको नजर उनीहरूसम्म पुगेको छैन। सिसौडाँगीकी सोना बास्की भन्छिन्, “एउटा पुलका लागि हामी वर्षौदेखि कराइरहेका छौँ, नेताहरू चार चार पटक गाउँ आएर पुल बनाउँछौ भनेका छन् तर पुल हाल्ने चाल गरेका छैनन्।”
यो खवर हिमाल खवरमा प्रकाशीत भएको हो । र त्यहीबाट साभार गरिएको हो ।

Share:

Facebook
Twitter
Email
WhatsApp