बिर्तामोडमा सेनाले बनाइदियो राधाकृष्ण मन्दिरको सत्सङ्ग भवन

बिर्तामोड/
नेपाली सेनाले नागरीक सैनिक सम्बन्धलाई थप प्रगाढ बनाउन झापाको बिर्तामोड स्थित राधाकृष्ण मन्दिरमा सत्सङ्ग भवन निर्माण गरिदिएको छ ।

सेनाको झापा स्थित चारालीमा रहेको अरिदमन गणले बिर्तामोड नगरपालिका वडा नं १० मा रहेको सो मन्दिरमा शौचालय समेत निर्माण समितीलाई हस्तान्तरण गरेको गणले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

यो योजना निर्माण गर्न पूर्वी पृतनापति उपरथी श्री आश बहादुर तामाङ (पि.एच.डि)ले परिक्पना गर्नु भएएको थियो । साथै श्री नं.२१ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी धन बहादुर थापाले यसको अवधारणा बनाई अरिदमन गण, चारआली व्यारेक झापाका गणपति प्र.से. प्राजु बस्न्यातको पहलमा निर्माण सम्पन्न भएको थियो ।

पौराणिक कथन एवं किम्बदन्ती अनुसार यस क्षेत्रमा विराट राजाले यस क्षेत्रमा रहेका गाईवस्तुलाई पानी खुवाउन निर्माण गरिएको एउटा पोखरी रहेको भन्ने कथन रहेको छ । यस कार्यले ऐतिहासिक महत्व बोकेको तेलगानी पोखरीमा आन्तरिक पर्यटनको प्रवर्धन हुनुको साथै स्थानिय तथा भक्तजनहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विस्वास सेनाको रहेको छ ।

सो कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, १० नम्बर वडा कार्यालयका वडा अध्यक्ष दुर्योधन गुरुङ्ग, तेलगानी पोखरी संरक्षण समितिका अध्यक्ष महेन्द्र शिवाकोटी तथा पदाधिकारीहरु, स्थानियवासी, बुद्धिजिवी, समाजसेवी, पत्रकार,समेत गरी करिब २५० को संख्यामा उपस्थिति रहेको थियो ।

बाहिनीपति थापाले यस किसिमका कार्यहरुले ऐतिहासिक महत्वका स्थलहरुको जगेर्ना हुने, आम जनचासोका पवित्र स्थलहरुको महत्व बढ्दै जाने र यस किसिमका सहकार्यले नागरिक-सैनिक सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नु भयो । आगामी दिनहरुमा पनि स्थानीयहरुको आवश्यकतालाई मध्यनजरमा राखी कार्यगत एकता गर्दै अगाडि बढ्ने उहाँको भनाई छ ।

यी योजना निर्माण सम्पन्न गर्न सेनाले कुल ५ लाख रुपैँया बजेट खर्च गरेको जनाएको छ ।

शनिबार औपचारीक कार्यक्रमको आयोजना गरी अरिदमन गणका गणपतिले सो स्तरोन्नती गरिएको मन्दिर, सत्सङ्ग भवन र शौचालयको तेलगानी पोखरी संरक्षण समितिका अध्यक्षलाई हस्तान्तरण गर्नु भएको थियो ।

Share: