सुष्माको हत्यारा प्रकरणः प्रेम प्रस्ताब अस्वीकार गर्दा ढुकेर हत्या

 काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ तारेभीरमाथि शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा गाडिएको अवस्थामा फेला परेकी १८ वर्षीया सुष्मा लामाको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुष्माको हत्यामा संलग्न भएको आरोपमा तारेभिर बस्ने २१ वर्षीय रुपेन्द्र लामालाई सार्वजनिक गरेको हो ।

शरीरको भाग गाडिएको र हात मात्रै देखिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले फागुन २५ गते सुष्माको शव खाल्डोबाट निकालेको थियो । मृतक एक महिनादेखि हराइरहेकी गोकर्णेश्वर नगरपालिका–३ की सुष्मा लामा रहेको खुलेको थियो । उनी गत माघ २२ गते बिहान ५ बजेदेखि हराएकी थिइन् । उनी हराएको भन्दै आफन्तले माघ २५ गते प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए ।

रूपेन्द्रले सुष्मासँग आफ्नो एकतर्फी प्रेम रहेको बयान प्रहरी समक्ष दिएका छन् । १८ वर्षकी सुष्मालाई रुपेन्द्रले मन पराउने र प्रेम प्रस्ताव गर्दा सुष्माले अस्वीकार गरेपछि हत्या गरेको खुलासा भएको छ । रुपेन्द्रले सुष्मालाई ८ महिना पहिलेदेखि मन पराउने गरेको र प्रेम प्रस्ताव गर्दा सुष्माले अस्वीकार गरेको खुलेको छ ।

उनीहरु २ वर्ष पहिलेदेखि घाँस काट्न, बाख्रा चराउन सँगै जाने आउने गरेको रुपेन्द्रले बताएको प्रहरीले जानकारी दियो । तर फोन तथा सामाजिक सञ्जालमा भने कुराकानी भएको देखिएको छैन । एकतर्फी माया गरेका रुपेन्द्रले पटक–पटक प्रेम प्रस्ताव गर्दा पनि सुष्माले अस्वीकार गरेपछि हत्या गरेको प्रहरी समक्ष बताएका छन् । हत्या गर्नुभन्दा ८ दिन पहिलेदेखि उनले बाटोमा ढुकेर बसेको र खाल्डो खन्नका लागि ४ दिनदेखि कोदालो पनि लगेको खुलेको छ ।

माघ २४ गते घटनाको दिन सुष्मा कलेज जाँदै गर्दा बाटो छेकेर रुपेन्द्रले प्रेम प्रस्ताव गरेका थिए । तर सुष्माले इन्कार गरेपछि पछाडिबाट घाँटी थिची अचेत बनाएर पुर्न पहिलै यकिन गरेका स्थानमा लगेर टाइ र जुत्ताको तुनाले कसेर हत्या गरेका थिए । हात पनि पेटीले बाँधेका थिए । हत्यापछि उनले कुटोले खाल्डो खनेर पुरेका थिए । त्यसपछि मृतकको मोबाइल र पुस्तक भने उनले लिएर गएका थिए ।

 

सुष्मा बुढानिलकण्ठ माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् । २४ गते सुष्मा कलेज गएपनि घर फर्किएकी थिइनन् । त्यसको भोलिपल्ट उनले प्रयोग गर्ने फेसबुक सुष्मा मंगोलियनमा आफूले विवाह गरेको भनि पोष्ट भएको थियो । २०८० माघ २३ गते गुगलबाट अर्कै बेहुला बेहुलीको फोटो डाउनलोड गरेर सम्पादन गरी सुष्माको फेसबुकमा सरी सबैलाई म ३ दिनपछि आउछु लेखेर पोष्ट गरेपछि फेसबुक डिएक्टिभ गरिएको थियो ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp