उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लाछिानेको राजीनामा माग्दै प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबारअगाडि प्रदर्शन भएको छ । उनीहरूले अर्थमन्त्री वर्षमान पुनको पनि विरोध गरेका छन् । कांग्रेस निकट विद्यार्थीहरूको संगठन नेविसंघको चाबहिल क्याम्पस एकाइका विद्यार्थीले प्रदर्शन गरेका हुन् ।
प्लेकार्ड र पोस्टरसहित प्रदर्शनमा निस्किएका नेविसंघका १५ बढी नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहकारीको रकम हिनामिनामा संलग्न रहेको भन्दै प्रहरीमा उजुरी परेका व्यक्ति गृहमन्त्रीमा रहनु अनैतिक हुने भन्दै उनीहरूले नैतिकताको आधारमा राजीनामा दिन माग गर्दै नाराबाजी समेत गरेका थिए ।
नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै ? दुलोभित्र पसेको हो ?, सहकारी पीडितलाई न्याय खै लगायतका व्यानर बोकेर सिंहदरबारमा प्रदर्शन गरेका थिए । सोही क्रममा उनीहरु पक्राउ परेका हुन् । सिंहदरबार वरपर निषेधित क्षेत्र घोषणा गरिएकाले प्रदर्शन गर्न निषेध गरिएको छ ।