पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले माहिलामाथि आक्रमण

 

पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट मंगलबार निजगढ नगरपालिकाकी एक महिला घाइते भएकी छन् । बाघको आक्रमणबाट मंगलबार दिउसो निजगढ नगरपालिका– ११ रतनपुरकी ४० वर्षीया दिलकुमारी पुलामी मगर घाइते भएकी हुन् ।

निजगढ नगरपालिका– ११ स्थित तपोभूमि सामुदायिक वनमा चौपाया चराउन गएकी मगरलाई बाघले पछाडिबाट आक्रमण गरेको घाइते दिलकुमारीले बताइन् । बाघको आक्रमणबाट जंगलमा लडेकी उनलाई सँगै चौपाया चराउन गएका भोगबहादुर मुक्तान र अर्का साथीले बचाउन सफल भए ।

तर, तीन वटा बाख्रा भने बाघले मारेको छ । बाघको आक्रमणमा परीकी मगरको छाती र पिठ्युँमा पन्जाको दाग छ । उनको पिठ्युँमा टाका समेत लगाइएको छ भने अवस्था सामान्य रहेको निजगढ नगरपालिका– ९ स्थित निजगढ सामुदायिक अस्पतालका डाक्टर मुन्ना कुमार साहले जानकारी दिए ।

यसैबीच निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले घाइते दिलकुमारीको स्वास्थ्य अवस्था बुझ्न निजगढ सामुदायिक अस्पताल पुगेका थिए ।

Share:

Facebook
Twitter
Email
WhatsApp