होलीलाई मर्यादीत बनाउन झापामा सुरक्षा योजना कस्तो?

दमक/
झापामा होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन जिल्लाभर ५ सय सुरक्षाकर्मी परिचालित गरिने भएको छ । आज सोमबार झापासहित तराईका जिल्लामा हर्सोउल्लासका साथ होली पर्व मनाइँदैछ । होलीलाई मित्रवत् पर्वको रुपमा मनाउन जिल्ला प्रहरी कार्यालय झापाले आम जिल्लावासीलाई अपिल गरेको छ । होलीको लागि छुट्टै सुरक्षा रणनीति बनाएको बताउँदै जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले भने, ‘आज बिहानदेखि जिल्लाभर ट्राफिकसहित ५ सय प्रहरी परिचालन भइसकेका छन् ।’

‘विशेष गरी मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेलमेट नलगाउने र तीन सवार हुने मोटरसाइकलमाथि निगरानी बढाएर तत्काल नियन्त्रणमा लिन जिल्लाभरका इञ्चार्जहरुलाई निर्देशन दिइसकेका छौँ,’ एसपी केसीले भने ।
आईतबार जिल्लाभरका इञ्चार्जहरुलाई प्रहरी कार्यालयमा बोलाएर होली लक्षित सुरक्षा योजनाका बारेमा निर्देशन दिइसकेको उनको भनाई छ । होली मनाउने क्रममा कसैको इच्छा विपरीत बाधा पुग्ने गरी रङ्ग नलगाउन, महिला तथा अपरिचित व्यक्तिहरूको मन्जुरी बिना जबरजस्ती होली खेल्नेलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गरिने उनले बताए ।

साथै बालबालिकाहरूलाई होली खेल्ने, खेलाउने र लोला हान्ने कार्यमा प्रयोग नगर्न, घरको छतबाट लोला हान्ने, रङ्ग छ्याप्ने, जथाभाबी लोला हान्दा आपसी झैँ-झगडा बढाउने र अप्रिय घटनाहरू समेत निम्त्याउन सक्ने तथा लोला लागेर मान्छेहरू घाइते समेत हुन सक्ने हुँदा सभ्य तरिकाले होली मनाउन उनले आग्रह गरेका छन् ।

होली खेल्ने बाहानमा चोरी, लुटपाट जस्ता घटनाहरू समेत हुन सक्ने भएको हुँदा आफूले बोकेको पर्स, मोबाइल, आफूले लगाएको गरगहना सुरक्षित राख्न प्रहरीले अपिल गरेको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp