आज तराईमा होलीको दिन, पानी पर्ने सम्भावना कती?

दमक/
आज तराईका जिल्लाहरूमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।

रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरू जम्मा भएर होली खेल्ने गरिन्छ ।

 

पहाडी तथा हिमाली जिल्लाहरूमा पूर्णिमाका दिन होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुसियाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ ।

होलीमा प्रयोग गरिने रङहरूको आआफ्नै महत्व रहेको छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।

 

मोसम कस्तो छ ?

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

सोमबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Share:

Facebook
Twitter
Email
WhatsApp