दमकमानै हुन्छ दैनिक १४ हजार केजी प्याजको खपत, वार्षिक ७ अर्व बढि भारत जादै नेपाली रुपैँया

बिमल लामीछाने
दमक/
तपाई हाम्रो भान्सामा नियमीत प्रयोग हुने प्याज कहाँबाट आउँछ र यस बापत मात्रै हाम्रो कती पैसा विदेश गइरहेको छ ? सुन्दा सामान्य जस्तो लाग्न सक्ला , तर तथ्यांक थाह भयो भने ओ हो प्याजमै पनि यत्रो रकम विदेश गइरहेको रहेछ भन्ने तपाईलाई लाग्न सक्छ ।

पूर्वको मेची भन्सार नाका भएर झापाको दमक भित्र्याइएको प्याज दैनिक १४ हजार केजी खपत हुने गरेको दमक सब्जी मण्डीका होलसेल व्यवसायी तथा पशुपति टे्रेडिङ कन्सर्नका प्रोपाइटर सन्तोष शाहले बताए ।

उनले अहिलेपनि उपभोक्तालाई आलु र प्याजमा राजश्व तिर्नुपर्छ अर्थात कर लाग्छ भन्नेकुरा थाहै नभएको बताए । उनले मेची भन्सार भएर दमकमा मात्रै हप्तामा सय टन बढी प्याज आउने गरेको जानकारी दिए । उनले भने ‘चाडबाडको बेला केही बढी आएपनि औसतमा यही हाराहारीमा भारतबाट प्याज आउने गरेको छ ।’

मेची भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा भारतबाट ६ अर्ब ८६ करोड रुपैयाँको प्याज आयात भएको थियो । भारतबाट ताजा, सुकाइएको र बिउ गरी तीन प्रकारमा प्याज आयात हुने गरेको तथ्यांक छ ।

जसमा ताजा प्याजका रुपमा ६ अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको छ । यस्तै, सुकेको प्याज ११ करोड रुपैयाँको आयात भएको छ भने २३ लाख रुपैयाँ बराबरको बीउ आयात भएको मेची भन्सार कार्यालयका प्रमुख अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए ।

नेपालको माग धान्न भारतबाट वार्षिक २० करोड किलोग्राम आसपास प्याज आयात हुने गरेको छ । नेपाल र भारतबीच १८ किलोमिटरभन्दा लामो खुला सिमाना छ । सोहीकारण, भारतीय बजारबाट खुला सिमानाको दुरुपयोग गर्दै लुकिछिपी पनि नेपालमा प्याज तथा तरकारी भित्रिने गरेको भन्सार कार्यालयले जनाएको छ ।

नेपाल आलु प्याज संघका अध्यक्ष मोहन बानियाँ भारतको एकाधिकार र नेपाल सरकारको फितलोपनाले नेपाली बजारमा प्याज र मसला तथा तरकारीजन्य बस्तुको मूल्य वृद्धि भएकाले उपभोक्ता मारमा परेको बताउँछन् । उनले सरकारको पछिल्लो कदमबाट नेपालमा प्याज मूल्य कम्तीमा पनि ४० प्रतिशतले नै बढेको बताए ।

Share: