शक्तिराज नेपाल
नेपालको शिक्षामा वर्गीय खाडल छ । जुम्ला, हुम्ला, भोजपुर, खोटाङ् तथा सङ्खुवासभाको चेपुवा, हटिया (जहाँ टुकी बालेर पढाइको सपना देखिन्छ)को ठाउँका विद्यार्थी र काठमाडौँ वा यस्तै सहरका विद्यार्थीको वर्ग एउटै मानेर डालो प्रथाका आधारमा मूल्याङ्कन गरिनु, सोचिनु र बहस गरिनु अस्वाभाविक हो । अझ हाम्रो विद्यालयका पाँचवटा तहको संरचना जस्तै, १–३, ४–५, ६–८, ९–१०, ११–१२ का अन्तिममा जस्तै ३, ५, ८, १०, १२ मा व्यवस्थित लिखित परीक्षा चलाइनुपर्ने सामाजिक आवश्यकता, चाहना र परिदृश्य हो । त्यसलाई बेवास्ता गरी सौखिन ठाउँको जहाँ पोस्टमोडर्न संस्कृतिको अभ्यास छ, साइबर संस्कृति र ब्क्ष् को प्रयोग गर्ने पुस्ताको विद्यार्थी छ, त्यस्तो वर्गलाई हेरेर विधेयकको छलफल नचलाइनु पक्कै पनि गैरजिम्मेवारीपना हो ।
उदार कक्षोन्नतिको नीतिको प्रयोगशाला नेपाली विद्यालय, निरन्तर विद्यार्थी मूल्याङ्कनको प्रयोगशाला नेपाली विद्यालय, लेटर ग्रडिङ् प्रणालीको प्रयोगशाला नेपाली विद्यालय, सुधारिएको ग्रेडिङ् प्रणालीको प्रयोगशाला हाम्रै विद्यालय, अनि सेमेस्टर प्रणालीको प्रयोगशाला हाम्रै विश्वविद्यालय, भएपछि कसरी बन्छ त साम्यवादी समाजका लागि चाहिएको जनशक्ति ?
नयाँ केही छैन विधेयकमा । निजी विद्यालय सञ्चालकको चङ्गुलमा फसिसकेकी शिक्षामन्त्री सुमना श्रेष्ठले केवल शिक्षकलाई मात्र गाली गरेर विद्यालय सुधारको गीत गाउनु स्यालको हुँइयामात्रै बनेको देखिन्छ । बहस चलाउनुपर्ने बेलामा रचनात्मक बहस नचलाएर एसइइको नीतिमाथि राजनीतिको तरबार चलाएर देशको शिक्षालाई सुधार्न सक्छु भन्ने शिक्षामन्त्रीको सपना मनको लड्डु मिस्रीसँग साँधेर खाए झैँ बनेको छ । एसइइको नतिजा कसरी त्यस्तो आयो भन्नेमा आफैँमात्र जान्ने झैँ गरी पुनः परीक्षा लिइने नाटक भनेको पनि सबै विद्यार्थी पास गराउ भन्ने होइन र ? विद्यार्थी छन् शिक्षक छैनन्, शिक्षक छन् प्रविधि छैन, प्रविधि छ सिप छैन, सिप छ पहुँच छैन, अहिले पहुँच छ फेरि विद्यार्थी छैनन् । अनि कहाँ छ त शिक्षाको खाडल शिक्षामन्त्रीज्यू ?
शिक्षामन्त्रीज्यू, न त शिक्षकमा नवप्रवर्तनको कुरो छ, न त कार्यसम्पादनमा आधारित मूल्याङ्कनको कुरो छ, न त व्यवस्थापन समितिको कार्यशैली र शैक्षिक जागरणको कुरो छ, न त विद्यार्थी भर्ना तथा अभिभावक जागरण र एकतामैत्री कुराको गुञ्जायस नै छ । अझै धेरै जस्तो न सार्वजनिक निजी साझेदारी एकताको कुरो नै प्रस्ट छ, न त सांस्कृतिक आदानप्रदानको पहिचान नै गरिने सङ्केत छ ।
के भयो त खासमा ?
आफू पदमा वा कुर्सीमा बसेपछि सबै थोक वा सबै कुराको ज्ञान वा अभ्यास आफूलाई मात्र थाहा छ भन्ने हाकिमे प्रवृत्तिले गुणस्तर आउँदैन शिक्षामन्त्रीज्यू । गुणस्तर आउन त नवप्रवर्तनात्मक शिक्षाको बहस विद्यालयबाट नै चलाउनुपर्छ । सबै सरोकारवालालाई विद्यालयसम्म लैजाने संयन्त्र खडा गर्नुपर्छ । विद्यार्थीलाई गुणस्तरीय र जीवनमुखी शिक्षाको सुनिश्चितता गराउनुपर्छ । शिक्षकलाई मात्रै दोष देखाएर सुधार हुन्छ, राजनीतिक अधिकार खोसेर शिक्षा सुधार हुन्छ भन्ने ठान्नुभएको छ भने अब त विद्यालय तथा विश्वविद्यालयमा शिक्षामन्त्रीको नमुना शिक्षण कक्षाको प्रस्तुति दिनुहोस् । कक्षामा विद्यार्थीको सङ्ख्या गन्नुहोस् । तपाइँको मन्त्रालयले प्रदान गर्ने सबै कार्यक्रमको हिसाबकिताब राख्नुहोस् । रिमोट कन्ट्रोलको कार होइन मन्त्रीज्यू, यो त जनताका बिचमा प्रदान गरिने चेतनाको गतिविधि हो, तपाइँ नेतृत्व गर्नुहोस् तर कुर्सीमा बसेर होइन, कक्षाकोठामा पुग्नुहोस् र विद्यार्थीलाई आफैँ सोध्नुहोस्– तपाइँलाई कस्तो शिक्षा भइदिए हुन्थ्यो जस्तो लाग्छ ? भनेर ।
अनुसन्धान गर्नुहोस् शिक्षामन्त्रीज्यू, विद्यालयमा घुम्नुहोस्, जुम्लाको विद्यालय र काठमाडौँको विद्यालयले दिने शिक्षाका बिचमा भिन्नता खोज्नुहोस्, उनीहरुका बिचमा चेतनाको मूल्याङ्कन गर्नुहोस्, विद्यार्थीको भूराजनीतिअनुरुपको शिक्षा तथा चेतनाको कुरो गर्नु न शिक्षामन्त्रीज्यू । माटो बोक्ने ठाउँका विद्यार्थीका लागि माटो बोक्ने कुरामा वैज्ञानिकता खोज्न सिकाउने कुरो ल्याउनुहोस्, हिमाली झरनाबाट बगेको पानीलाई बोतलमा प्याक गर्न सिकाउने कुरो ल्याउनुहोस्, धान फल्ने ठाउँमा धान रोप्न सिकाउने कुरो ल्याउनुहोस्, यथार्थमा विद्यार्थीको जीवनशैलीअनुरुपको शिक्षाको कुरो गर्नुहोस् ।
कतै परम्परा भेट्नुहुन्छ त कतै विज्ञान भेट्नुहुन्छ अनि ती सबै कुरालाई मौलिक बनाइदिनुहोस् । आहा शिक्षामन्त्रीज्यू, अर्गानिक हो चाहिएको, ब्रोइलर शिक्षा होइन । जय होस् ।