दमक, १३ साउन/ बिर्तामोडमा पत्रकारहरुको निर्माणमा लागुऔषध लगायतका अपराध विरुद्धको चलचित्र ‘क्राइम इन बिर्तामोड’ ( सीआइबी) बन्ने भएको छ ।
बिभिन्न लघु चलचित्र निर्माण गर्दै आएका राजन थापाको मुख्य लगानीमा सहनिर्माताका रुपमा पत्रकार तीर्थ सिग्देल, सुरेन्द्र भण्डारी सहित चन्द्रकान्त ढकाल, डीपी रिजाल र उमेश चौधरी रहनु भएको छ । कार्यकारी निर्मातामा पुजन प्रकाश इङ्नाम हुनुहुन्छ । निर्माण टिमले बिर्तामोडमा पत्रकार सम्मेलन गरी सोको जानकारी गराएको छ ।
पूर्वमा आर्थिक विकासको केन्द्र बन्दै गएको बिर्तामोड पछिल्लो समयमा लागूऔषध लगायत बिभिन्न खालका अपराधको पनि केन्द्र बन्दै गएको अवस्थालाई चलचित्रमा उतारिन लागेको यसका लेखक तथा निर्देशक रोहन राईले बताउनु भयो ।
चलचित्रको मुख्य भूमिका रेजिना रणपहेली र नवीन रिजालको रहने छ । दुबैजना सर्ट भिडियो प्लेटफर्म टिकटकबाट उदाउनु भएका कलाकार हुनुहुन्छ ।