दमक, १७ साउन / मिर्गौलामा समस्या भएर थलिदै आउनु भएका नेपाली संगीत क्षेत्रका चर्चित एवंम् शास्त्रीय संगीतका साधक गुरुदेव कामतको निधन भएको छ ।
गत चैतमा मिर्गौला समस्या देखिएपछि केही समयदेखि सिरहा लक्षम्पीर पतारी गाउँपालिका २ पोखरभिण्डामा घरमै बस्दै आउनु भएका कामतको बिहीबार विहान ७ ः ३० बजे आफ्नै निवासमा ६९ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ ।
शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने कामतको उपचारका लागि आर्थिक संकट भएपछि एक महिना अघि जन्मथलो फर्किएको उनका माइला छोरा प्रमिन्द्र कामतले जानकारी दिनुभयो । काठमाडौंमा रहेर गीत संगीतको क्षेत्रमा सक्रिय हुँदै आएको अवस्थामा मिर्गौलामा समस्या भएको र उपचारका लागि आर्थिक संकट भयो । जसका कारण आफ्नो उपचार गराउन नसकेर कामत काठमाडौँबाट आफ्नो जन्मथलो सिरहाको पोखरभिन्डा फर्किनु भएको थियो ।
पछिल्ला ४० वर्ष देखि निरन्तर काठमाडौँमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आउनु भएको थियो । २०१२ साउन १७ गते सिराहाको पोखरभिण्डामा जन्मिनु भएको थियो । उहाँले गीत पनि गाउनु भएको थियो । त्यो भन्दा बढी संगीतकार तथा संगीत गुरुका रूपमा परिचित हुनुहुन्थ्यो ।