माओवादीका सबै नेताको सम्पत्तिको विवरण सार्वजनिक गर्नुपर्छ – शर्मा

काठमाडौँ, २७ साउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको केन्द्रीय कार्यालयमा जारी बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीका सबै नेताहरूको सम्पत्तिको यथार्थ विवरण सार्वजनिक गरिनुपर्ने प्रस्ताव राख्नु भएको छ ।

 

 

स्थायी कमिटी बैठकमा शर्माले यस्तो लिखित प्रस्ताव अघि सार्दै सुशासनको पक्षमा जोड दिनु भएको छ ।
साथै उहाँले ओरालो यात्रामा रहेको माओवादीलाई पुनः गति दिनु अहिलेको आवश्यकता रहेको भन्दै त्यसका लागि पार्टीले प्रभावकारी प्रतिपक्षको भूमिका खेल्दै २०८४ सम्म सरकारमा नजाने घोषणा गर्नुपर्ने समेत प्रस्ताव अघि सार्नुभएको छ ।

 

 

‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा पार्टी निर्माण सम्पूणर् विषय समेटेर आफ्नो प्रस्ताव पेस गर्ने क्रममा ती विषय उल्लेख गर्नु भएको हो । शान्तिप्रक्रिया लगत्तै समग्र पार्टी पङ्क्तिलाई अभियानात्मक रूपले उत्पादन र रोजगारी सृजनाका काममा आह्वान गर्नुपर्नेमा पार्टी निकै अलमलमा परेको उहाँले जनाउनु भएको छ ।

 

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिमा पार्टी निर्माण र भावी रणनीतिबारे मौखिक प्रस्ताव राख्नु भएको थियो । साथै प्राप्त उपलब्धिको रक्षाका लागि बृहत् वामपन्थीबिच एकीकरण गरी सदन र सडक सङ्घर्ष गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

 

 

बैठकमा सहभागिले नेतृत्वको कार्यकाल तोकिनुपर्ने साथै पार्टी निर्माणका लागि जनतामा जानुपर्नेमा जोड दिएका थिए ।

Share: