दमक, २७ साउन । पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि सिकिस्त अवस्थामा रहेकी एक महिलाको संखुवासभाबाट आइतबार सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
अत्याधिक पेट दुखेर जिल्ला अस्पताल संखुवासभामा भर्ना हुनु भएकी भोजपुर षडानन्द-५ की ३३ वर्षीया नानीमैैयाँ मगरलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
विहानबाट अत्यधिक रक्तस्राव भएर मगरको पाठेघर फुटेको थियो । पाठेघर फुटेलगत्तै गर्भमा रहेको कम्तीमा ४२ हप्ताको शिशुको मृत्यु भएको डा.प्रदीप श्रीवालले जनाउनु भयो । जिल्लामा उपचार सम्भव नभएपछि मगरलाई दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यविधिअनुसार उद्धार गरिएको स्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व प्रमुख भवानी तिम्सिनाले बताउनु भयो । मगरलाई थप उपचारका लागि हेलिकोप्टरमा राखेर परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, काठमाडौँ पठाइएको छ ।