झापामा ३० भन्दा बढी भए रैथाने हात्ती

दमक, २८ साउन /  झापामा पछिल्लो समय स्थानीय रुपमा लामो समयदेखि बस्दै आएका रैथाने हात्तीको संख्या बृद्धि भएर ३० वटा भन्दा बढी भएको पाइएको छ । जसबाट स्थानीयमा झनै त्रास बढेको छ ।

 

०५७ सालमा १० देखि १२ वटाको संख्यामा रहेका रैथाने हात्ती झण्डै तेब्बर बृद्धि भई ३० वटा भन्दा बढी भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउनु भएको छ । हात्तीले सन्तान समेत बृद्धि गरेको तथा भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती यतै बस्न थालेपछि यता हात्तीको संख्या बढेको उहाँले उल्लेख गर्नुभयो ।
जिल्लामा धान, मकैलगायत बालीको जोन-सुपरजोन घोषणा भएपछि हात्ती ती बालीनालीलाई आहारा बनाउने क्रममा सबैतिरको बस्तीमा पस्न थालेर जनधनको क्षति बढ्दै गएकोस्थिती दर्शाउनु भयो ।

 

हात्तीलाई जंगलभित्रै राख्न पछिल्लो समय हात्ती आहाल, हात्तीलाई मनपर्ने फलफूल तथा बोटबिरुवा लगाउने कार्य अघि बढाइएको छ । जिल्लाका विभिन्न वन परिसरमा गत वर्षमात्रै जंगलमा आठवटा हात्ती आहाल निर्माण गरिएको छ । वनक्षेत्रमा हात्तीले मन पराउने नौ हजार नौ सय ६९ वटा बाँस र छ हजार हात्तीफलको विरुवा रोपिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो । वनमा केराका विरुवासमेत रोपिएको छ ।
हात्तीको समस्या कम गर्नका लागि प्रकृति संरक्षण कोषसँग पहल गरिरहेको उहाँले बताउनुभयो । हात्तीको समस्या कम गर्नका लागि प्रदेशभरिको योजना निर्माण भइरहेको पनि जनाउनु भयो ।

 

हात्तीले प्रयोग गर्ने जैविकमार्गमा पुल, सडकलगायत संरचना निर्माण भएपछि हात्तीले बाटो परिवर्तन गर्दा बढी क्षति हुने गरेको छ ।
जिल्लामा आर्थिक वर्ष २०६७/६८ देखि आव २०८०/८१ सम्म हात्तीको आक्रमणबाट ६७ जनाको मृत्यु भएको छभने २१ हात्ती मृत भेटिएका छन् । मृत्यु भएकामध्ये सातजना गैरनेपाली छन् । सो अवधिमा चार हजार पाँच सय हात्तीपीडितलाई नौ करोड राहत वितरण गरिएको उल्लेख छ ।

Share: