दमक, २८ साउन / मन्दिर परिसरको पूर्वदक्षिण दिशामा उत्तरतर्फ फर्किएको शिवको निकै ठूलो आकारको आकर्षक प्रतिमा छ । त्यसको ठीक मुनी पार्वतीको गुफा र अघिल्तिर लामबद्ध रुपमा १०८ वटा शिवलिंगको प्रतिमा अर्को आकर्षणस्थल हो । अनि त्यसको उत्तर दिशामा पानीको आकर्षक फोहोरा सहितको नागपोखरीले पनि भक्तजनको मन खिचेको छ ।
यी सुन्दर र आकर्षक दृष्य हुन् आम्दा अस्पतालको दक्षिणतर्फ रहेको दमक ५ स्थित धनेश्वर शिव पाञ्चायन मन्दिर परिसरको । यही वर्षमात्र स्थापना भएको शिवको ठूलो प्रतिमा र शिवलिंगको फरकखाले आकर्षणले यसवर्ष अझ बढी धार्मिक पर्यटक बढाएको देखिएको छ ।
यो वर्षको साउने सोमबारको आज अन्तिम दिन । अन्तिम सोमबार भएकाले ब्रत बसेर शिवालयमा पूजाआजा गर्ने क्रममा अन्य दिनका सोमबार भन्दा भिडभाड देखिएको छ । जुन भिडभाड धनेश्वर मन्दिरमा अझ बढी छ ।
आफु नेपालको धेरै टाढा टाढाका धामहरुमा बोलबम यात्रा गरेको स्मरण गर्दै समाजसेवी विजयप्रसाद बरालले आफ्नै ठाउँमा यसखाले आकर्षक धार्मिकस्थल रहेकोमा खुसी व्यक्त गर्नुभयो ।
पार्वतीले असल पति पाउँ भनि शिवको आराधना गरेको धार्मिक परम्पराका आधारमा साउनको सोमबार शिवालयमा पुगेर आफ्नो मनोकांक्षा प्रस्तुत गर्ने गरेको पाइन्छ । मनलाई शान्त पार्न तथा मनोकांक्षा पुरा गर्न पुकार गर्ने क्रममा भक्तजनहरुले वर्षेनी सोमबारको ब्रत बस्दै आएका छन् ।
वर्षेनी साउने सोमबारको ब्रत बसेर पूजाआजा गर्दा मनमा शान्ति हुने स्थानीय भक्तजन लक्ष्मी ढकालले उल्लेख गर्नुभयो । धनेश्वर मन्दिरमै भेटिनु भएकी अम्बिका ढकालले त आफुले निरन्तर १५ वर्षदेखि त्यहाँ पूजाआजा गर्दै आउँदा आफ्नो बोल्न नसक्ने सन्तानको बोली समेत आएको प्रसंग उल्लेख गर्नुभयो ।
धनेश्वर मन्दिरमा बढेको भिडभाडलाई मन्दिर व्यवस्थापन समितिले व्यवस्थित गर्दै पूजाआजामा सहज बनाएको समितिका सचिव एकराज लुइटेलको भनाई छ ।
दमक ६ को नगरकै पुरानो मन्दिर पशुपति मन्दिरमा तामाको छानो लगाएर सो क्षेत्रलाई पनि धाम क्षेत्रका रुपमा विकसित गर्दै लगिएको छ ।
धार्मिक विश्वासका आधारमा पूजाआराधना गरी मनलाई शान्त पार्ने यसखाले परम्पराले आफु नैतिकवान बन्ने मुलमन्त्र सिकाइरहेको छ । साथै मन्दिरलाई थप आकर्षणस्थलका रुपमा विकास गरी पूजाआजाका लागि अन्यत्र धाउनु नपर्ने बनाएर धार्मिक पर्यटन प्रवद्र्धनको काम पनि भइरहनुलाई धर्मसंस्कृतिको परम्परा जोगाउने र नैतिकता सम्झाउने कामको रुपमा लिन सकिन्छ ।