झापामा १ हजार २ सय हेक्टरमा सिंचाई सुविधा थप

दमक, २९ साउन /  झापामा भूमिगत जलसिँचाइ आयोजना अन्तर्गत जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत आर्थिक वर्ष २०८०/८१ मा एक हजार दुई सय हेक्टर जमिनमा भूमिगत सिँचाइ सुविधा थप भएको छ ।

 

गत आवमा कृषि उत्पादन बढाउन नदी तथा नहरबाट सिँचाइ सुविधा नपुगेका खेतबारीमा भूमिगत सिँचाइ प्रणालीका माध्यमबाट सिँचाइ पुर्याउन १५ डिपट्युबवेल निर्माण र १७ वटा संरचना निर्माण सम्पन्न भएको सूचना अधिकारी आयोजनाका सूचना अधिकारी इश्वर थापाले जनाउनु भयो । योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको पनि जानकारी गराउनु भयो ।

 

 

गत आवका लागि विनियोजित १० करोड ४५ लाखको वित्तीय प्रगति शतप्रतिशत हुनुका साथै भौतिक प्रगति एक सय ३४ दशमलव १७ प्रतिशत रहेको कार्यालयले उल्लेख गरेको छ । गत आवमा विनियोजित बजेटमा आयोजनाले लिएको लक्ष्यभन्दा बढी काम भएकाले भौतिक प्रगति बढेको जनाइएको छ ।

Share: