खेलकुद महासघंले गर्‍यो आम्दा अस्पतालमा रक्तदान र फलफूल वितरण

दमक, २९ साउन / नेपाल खेलकुद महासघं कोशी प्रदेश र झापा जिल्ला कमिटीको संयूक्त आयोजनामा सोमबार दमकमा रक्तदान तथा विरामीलाई फलफूल वितरण कार्यक्रम भएको छ ।

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा दमक २ स्थित आम्दा अस्पतालको प्राङगणमा औपचारिक कार्यक्रम गरी रक्तदान तथा सो अस्पतालमा उपचार गराइरहेका बिरामी तथा बिरामीका कुरुवालाई फलफूल वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी रहनु भएका नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रोमनाथ ओलीले रक्तदानले कसैको जीवन बचाउन मद्धत पुग्ने भएकाले कार्यक्रम निकै महत्वपूणर् रहेको उल्लेख गर्नु भयो । अझ अस्पतालमै यसखाले कार्यक्रम आयोजना गर्दा यहीँ उपचार गराइररहेका बिरामीलाई थप राहत पुगेको बताउनु भयो ।
कार्यक्रममा विषेश अतिथिको रुपमा रहनुभएका अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश शर्माले अस्पतालमा रगतको आवश्यकता परिरहने भएकाले यसखाले रक्तदानले महत्वपूणर् भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । आम्दा अस्पतालमा हरेक दिन न्यूनतम २० जना महिलाले प्रसुति सेवा लिने गर्दछन् । अन्य विभिन्न खाले शल्यक्रिया पनि हुँनेहुँदा यी सबै काममा रगतको आवश्यक परिरहने डा. शर्माले जनाउनु भयो ।

 

 

मुलुकको परिवर्तनकालागि नेता मदन भण्डारीले आफ्नो जीवनको समेत कुर्वानी गर्नु भएकोले उहाँकै स्मृतिमा यो कार्यक्रम गरिएको महासघंका कोशी प्रदेश अध्यक्ष राजकुमार थापाले जनाउनु भयो ।

 

कार्यक्रममा ४६ पिन्ट रगत संकलन भएको महासघंका सचिव भीम लिवाङले जानकारी दिनुभयो ।

Share: