सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक आजै पारित गर्ने तयारी

काठमाडौँ, ३० साउन ।  प्रतिनिधिसभामाको बुधबारको बैठकमा बहुप्रतिक्षित रुपमा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत गरेर पारित गर्ने सदनको तयारी रहेको छ ।

 

 

बैठकमा, सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर सम्बन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीपछि अरु सूची अघि बढ्नेछ ।

 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

 

 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नुभएको थियो । त्यसपछि प्रतिनिधिसभाले सो विधेयक समितिमा छलफलका पठाएपछि साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो । समितिमा सहमति हुन नसकेका विधेयकका केही बुँदामा प्रमुख राजनीतिक दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदलले सहमति जुटाएको थियो ।

 

 

बुधबारको बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ र शिक्षा स्वास्थ्य सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

Share: