पथरी, ३० साउन / मोरङको पथरी शनिश्चरे वडा नम्बर १० ले डेंगु रोग नियन्त्रणका लागि ‘खोज र नष्ट गर कार्यक्रम’लाई अघि बढाएको छ ।
वडामा बुधबारबाट डेंगुविरुद्ध लामखुट्टेको बासस्थान, त्यसको लार्भा ‘खोज र नष्ट गर कार्यक्रम’सँगै स्वास्थ्य परामर्श कार्यक्रम अघि बढाइएको हो । कार्यक्रममा वडाध्यक्ष जीवन खतिवडा, वडा सदस्यहरु दिलबहादुर कार्की, वीरबहादुर बस्नेत, आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मचारी, डाँस मोरङ्गी सामुदायिक वनका पदाधिकारी लगायतको टोलीले जिरिखिम्तिबाट सो अभियानको थालनी गरेको हो ।
सो दिन जिरीखिम्ती र त्रिवेणी चौकमा खोज र नष्ट गर कार्यक्रम भएको तथा बाँकी ठाउँमा पनि कार्यक्रमलाई निरन्तर अघि बढाइने वडाध्यक्ष खतिवडाले जनाउनु भयो । टोलीले संभावित जोखिमयुक्त ठाउँहरूको अनुगमन गरी त्यहाँका बासिन्दालाई लामखुट्टेबाट सर्ने डेंगु रोगबाट बच्न आफ्नो घर वरपर कुनैस्थल वा टोकरीहरुमा स्थिर रुपमा पानी जम्न नदिने, झुल टाँगेर मात्र सुत्ने लगायतका उपायका विषयमा परामर्श समेत दिएको थियो ।
पछिल्लो समय पथरीशनिश्चरेका विभिन्न स्थानहरुमा डेंगुको जोखिम बढेको पाइएपछि नगरले डेंगु रोग विरुद्ध अभियान चलाइरहेको छ ।