तेह्रथुम, ३० साउन । कोशी प्रदेश सरकारको महत्वपूणर् सडक सञ्जालको रुपमा ८९ करोड ९० लाखको लागतको सिधुवा शुक्रबारे सडक बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको छ ।
कोशी प्रदेश सरकारको ८९ करोड ९० लाख रुपैयाँको लागतमा निर्मित १७ किलोमिटर लामो सडकको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले तेह्रथुमको कृषि, पर्यटनको प्रर्वद्धनमा भूमिका खेल्ने बताउनु भयो । उहाँले पहाडी जिल्लामा भइरहेको बसाइँसराइ रोक्न र कृषि र पर्यटनलाई प्रर्वद्धन सडक महत्वपूणर् हुने बताउँदै भन्नुभयो -‘आज पहाडमा बसाइँसराइ बढ्दै गएको छ, यो रोक्न यो सडकले पनि केही मात्रामा सहयोग पुर्याउने छ । साथै बसाईसराई रोक्न नीतिगत व्यवस्था गर्दै शिक्षा र स्वास्थ्यमा पनि सरकारले काम गर्ने छ ।’
कोशी प्रदेशको समृद्धिका लागि आगामी वर्ष कोशी पर्यटन वर्ष मनाउने तयारी भइरहेको जानकारी दिनुभयो । ‘प्रदेश नयाँ संरचना हो, हामी राम्रा र देखाउन हुने काम गर्ने छौँ । आगामी असोज ११ गते पर्यटन दिवसका दिन सबै नीतिगत कुराहरु घोषणा गरेर पर्यटन वर्षको तयारीलाई तीव्रता दिने छौँ ।- उहाँले भन्नुभयो ।
यो सडक धनकुटाको सिधुवाबाट सुरु भइ तेह्रथुमको सदरमुकामसम्म पुर्याउने लक्ष्यका साथ निर्माण गरिएको हो । मुख्यमन्त्री कार्कीले बुधबार नै तेह्रथुमको थछर जोरपाटीको खेलकुदलगायत विभिन्न कार्यक्रममा सहभागिता जनाउनु भएको थियो ।