दमक ३१ साउन । झापाका पालिकाहरुमा ६ जना जनप्रतिनिधि हाल कार्यरत नभई पद रिक्त सरह रह को भएपनि त्यसमध्ये एउटा पालिकाको एक पदका लागि मात्र उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न प्रस्ताव गरेको अवस्थामा झापाको कनकाई नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदको मात्र उपननिर्वाचन हुने भएको हो ।
। गत २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्षको रिक्त पदमा उपनिर्वाचन गर्न लागिएको छ ।
झापामा झापा गाउँपालिकाका अध्यक्ष, वडा नम्बर ६ का वडा सदस्य, कन्काई नगरपालिकाका वडा नम्बर ६ का वडाध्यक्ष, बिर्तामोड १० का वडा सदस्य, बिर्तामोड ६ की दलित महिला सदस्य, बिर्तामोड ९ का वडा सदस्य पद रिक्त छ । ती प्रतिनिधिहरु धेरैजसो रोजगारीका लागि विदेश गएका र केही भ्रष्टाचारमा निलम्बनमा परेका छन् । बिर्तामोड १० का वडा सदस्य पंचधन राई , बिर्तामोड ६ की दलित महिला सदस्य शोभा विक र बिर्तामोड ९ का वडा सदस्य चन्द्र दंगाल जिम्मेवारी छोडेर वैदेशिक रोजगारीमा जानु भएको छ ।
कनकाई नगरपालिका ६ का वडा अध्यक्ष दिर्घबहादुर थापाको ६६ वर्षको उमेरमा गत असार २ गते निधन भएपछि रिक्त वडाध्यक्ष पदको लागि निर्वाचन हुन लागेको हो । थापाको निधनपछि वडा सदस्य अर्जुन राजवंशीले कार्यवाहकको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धामा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह निलम्बनमा परेपछि सो पद रिक्त छ ।
जनप्रतिनिधिको मृत्यु भएको र निलम्बनमा परेको जानकारी भएपनि जिम्मेवारी छाडेर विदेश गएको विषयमा जिल्ला निर्वाचन कार्यालयलाई खासै जानकारी नभएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले बताउनु भयो । एक वर्षमै रिक्त भएपनि वडा सदस्य पदको लागि उपनिर्वाचन गराउने व्यवस्था नरहेको उहाँको भनाई छ ।