योजना आयोगको दोस्रो आवधिक योजना सार्वजनिक

विराटनगर, ३२ साउन  कोशी प्रदेश योजना आयोगले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एक कार्यक्रम गर्दै प्रदेशको दोस्रो पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गरेको छ ।

 

 

पाँच वर्षीय कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले पञ्चवर्षीय आवधिक योजनाको मुख्य मुख्य आयोजनाहरू प्रस्तुत गर्दै दोस्रो आवधिक योजनाको सोच ‘सुशासित, खुसी, आर्थिक रूपले गतिशील र समुन्नत प्रदेश’ रहेको जानकारी दिनु भयो । आवधिक योजनामा आर्थिक वर्ष २०८५/०८६ सम्ममा कोशी प्रदेशको आर्थिक वृद्धिदर ७.५५ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० मा २.३८ प्रतिशत आर्थिक वृद्धिदर थियो भने आर्थिक वर्ष २०८०/०८१ मा ३.५१ प्रतिशत थियो ।

 

प्रदेश योजना आयोगले सार्वजनिक गरेको दोस्रो आवधिक योजना अनुसार आर्थिक वर्ष २०८५/०८६ मा प्रतिव्यक्ति कुल ग्रार्हस्थ उत्पादन १६४५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा १२९९ अमेरिकी डलर थियो भने आर्थिक वर्ष २०८०/८१ मा १३३६ अमेरिकी डलर थियो ।

 

 

आवधिक योजनामा साक्षरता ९० प्रतिशत पुर्‍याउने अनुमान गरिएको छ भने विद्युत् उत्पादन २२०० मेगावाट अनुमान गरिएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०८५/८६ सम्ममा गरिबीको रेखामुनी रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा १७.५० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका थिए भने गएको आर्थिक वर्षमा यसमा ०.३० प्रतिशत घटेर १७.२० प्रतिशत पुगेको छ । यसैगरी अहिले १० प्रतिशत रहेको बेरोजगारी दरलाई आर्थिक वर्ष २०८५/८६ सम्ममा ५.४ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ।

 

 

आवधिक योजनामा उल्लेख भएको क्षेत्रगत परमाणात्मक लक्ष्य अनुसार कुल ग्रार्हस्थ उत्पादन (उपभोक्ता मूल्यमा) १३१७.९५ अर्बमा पुर्‍याउने लक्ष्य रहेको छ भने कृषि क्षेत्रको वार्षिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । उद्योग क्षेत्रको वार्षिक वृद्धिदर १०.५६ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ ।

Share: