दमक, १ भदौ । नेकपा एमाले दमक ५ नम्बर वडा कमिटीको दोस्रो अधिवेशनबाट शनिबार निर्वाचनमार्फत नयाँ समिति चयन भएको छ । जुद्धबहादुर भण्डारी खडगलाई पराजित गर्दै अध्यक्षमा रोहितकुमार उप्रेती किरण विजयी बन्नु भएको छ । तीनजनाबीचको प्रतिस्पर्धाबाट उपाध्यक्षमा गीतादेवी निरौला निर्वाचित बन्नु भयो । दुईजनाबीच सचिवमा हिन्दबहादुर बुढाथोकी तथा चारजनाबीचबाट उपसचिवमा गम्भिरा दाहाल र रामप्रसाद रिमाल निर्वाचित हुनुभएको छ । शुक्रबार उद्घाटन भएको अधिवेशनमा पार्टीलाई भूमिगतकालमा सुरक्षित वासस्थान अर्थात सेल्टर दिने सो वडाका १० जना र ६० वर्षमाथिका सहित पार्टीका अगुवा ४७ जनागरी ५७ जनालाई सोहीदिन सम्मान गरिएको थियो ।