दमक, ३ भदौ/
‘येन बद्धो वलीराजा दानवेन्द्रो महावल ।
तेन त्वां प्रतिबध्नामि रक्षमा चलमा चल ॥’
यसको अर्थ हो ः, ‘जुन रक्षा (काँचो धागो) ले दानवहरूको महान् राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।’
श्रावण शुक्लपक्षको पूणर्िमा तिथीलाई श्रावणी पूणर्िमा वा जनैपूणर्िमा भनिन्छ । यो वर्षको जनैपूर्णिमा आज मनाइएको छ । जनै पूणर्िमाको दिन हिन्दु धर्मावलम्बीहरुले यसखाले मन्त्रोच्चारण गर्दै रक्षा बन्धन बाँध्ने परम्परा छ । यही दिन मन्त्रोच्चारण गरेको नयाँ जनै लगाउने प्रचलन छ । ६ सूते धागोलाई दुई बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर मन्त्रोच्चारण गरी जनैको रुप दिइन्छ । जनैमा रहने दुई वटा शिखाका छ वटा घागोको डोरा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।
बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु-पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरिन्छ । त्यसपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।
कतिपयले आफै गुरु पुरोहित कहाँ गई या मठ मन्दिरमा गएर रक्षा बन्धन बाँध्ने गर्दछन् ।
आजको दिन ज्वाइँ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ ।
उपनयन संस्कार भएकाहरूले जनै लगाउने गर्दछन् । सनातन दर्शनमा मानिसको जीवनलाई १६ वटा संस्कारले बाँधेको हुन्छ र उपनयन संस्कार त्यस मध्य एक हो । रक्षा बन्धनका रुपमा बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरी दिने चलन पनि छ ।
यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजु-भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रक्षाबन्धनका रुपमा रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । राखीको चलन भारतर्फबाट भित्रिएको देखिन्छ । यो दिन विभिन्न ठाउँमा मेला समेत लाग्ने गर्दछ ।
आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ । नेवार समुदायले आजको दिन क्वाँटी खाने चलन पनि छ । ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । जसले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।