"डेंगु लगातार बढ्दै"

कोशीमा ६३९ सहित ७४ जिल्लाका ३ हजार ७५५ जनामा डेंगु

दमक, ४ भदौ ।  एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेबाट सर्ने डेंगु नेपालका ७४ जिल्लामा फैलिदा हालसम्म तीन हजार सातसय ५५ जनामा संक्रमण देखा परेको छ ।

 

त्यसमध्ये सबैभन्दा बढी तनहुँमा संक्रमित रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को पछिल्लो तथ्यांकले जनाएको छ । त्यहाँ सातसय १५ जना संक्रमित फेला परेका छन् भनें एकजनाको ज्यान समेत गइसकेको छ । झापामा पनि एकजनाको ज्यान गएको छ ।

 

सन् २०२४ को सुरू अर्थात् गत पुसको मध्यदेखि हालसम्म ३ हजार ७५५ जनामा डेंगु संक्रमण पुष्टि भएको महाशाखाले उल्लेख गरेको छ ।
गण्डकीमा १ हजार ४४८, बागमतीमा ९२८ डेंगु संक्रमित फेला परेका हुन् । त्यस्तै, कोशीमा ६३९, लुम्बिनीमा ३२८, सुदूरपश्चिममा २९५, मधेशमा ६५ र कर्णाली प्रदेशमा ५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लागत रूपमा सबैभन्दा धेरै तनहुँमा ७१५, काठमाडौंमा ३५४, कास्कीमा २७४, झापामा १४७, चितवनमा १४५, पर्वतमा १३६, मकानपुरमा ९०, गोरखामा ८५ जना डेंगु संक्रमित भेटिएका छन् । पछिल्ला दिनमा गण्डकीमा प्रदेशका जिल्लामा डेंगु फैलिने क्रम बिस्तारै बढ्दै छ ।

 

 

अब मनसुन बिस्तारै रोकिँदै गएसँगै डेंगुका बिरामी बढ्न सक्ने इडीसीडीका अधिकारी बताउँछन् । अघिल्लो वर्ष ७७ वटै जिल्लामा डेंगु फैलिँदा ५२ हजार भन्दा बढी संक्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो ।

 

बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो बर्खा, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारणले पहाडहुँदै हिमाली क्षेत्रसम्म पनि डेंगुको प्रकोप फैलिन थालेको जनस्वास्थ्यविद्ले जनाएका छन् ।

 

 

सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकुल मानिन्छ । कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भए पनि लामखुट्टेले पारेका अण्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । लामखुट्टेले सफा पानीमा फुल पार्छ ।

 

 

डेंगु मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगु लागेमा रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरूप बिरामी व्यक्ति सिकिस्त हुने गर्छन् ।

 

डेंगु लामखुट्टेको वृद्धि, विकास सबभन्दा बढी फालिएका टायरमा तथा फलाम र प्लास्टिकका ड्रमहरू हुन् । डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्दा डेंगु नियन्त्रण गर्न सकिने भन्दै स्वास्थ्य मन्त्रालयले आफ्नो वरपर पानी जम्न नदिइ सफा राख्न अनुरोध गरेको छ ।

 

Share: