दमक, ६ भदौ / सामान्यतया जन्मने बित्तिकै हरेक शिशुको तौल न्यूनतम पनि अढाई केजी हुनुपर्छ भन्ने मान्यता छ । यदि यो भन्दा कम तौलको शिशुको जन्म भयो भने त्यसलाई चिकित्सकीय भाषामा एल ओ डब्लु अर्थात लो वेट बर्थ भनिन्छ ।
समय नपुगी शिशुको जन्म भएमा, आमा कुनै दीर्घ रोगी भएमा वा अन्य घातक रोग लागेको भएमा वा आमाको नै उमेर ३५ वर्ष भन्दा माथी वा आमा बन्ने उमेर नपुगी भएमा यस्ता खाले समस्या हुन सक्ने चिकित्सकले बताएका छन् । हो यिनै मध्ये झापा बुद्धशान्ती गाउँपालिकाकी यमुना उप्रेतीले २६ हप्ताको अवधिमा आफ्नो छोरीको जन्म दिनु भयो । यसरी न्यूनतम अवधी समेत नपुगी जन्मेको बच्चाको तौल कम त हुने नै भयो । ७ सय ५० ग्रामको मात्रै छोरी जन्मिन पुगेपछि उप्रेती परिवारमा चिन्ता थपियो ।
यो घटना हो झापाको दमकस्थित किओच बाल अस्पतालको । अति कम तौल भएको बच्चाको जन्म भएपछि उपचारमा संलग्न चिकित्सकको टिम पनि आश्चर्यमा पर्यो ।
आमा र बच्चालाई बचाउनु पर्ने चुनौती अस्पताल र चिकित्सकहरुको टिमलाई आईपर्यो । बाल अस्पतालको रुपमा ख्याती कमाउँदै गरेको यो अस्पतालमा बालबालिकाको उपचारमा बिज्ञता हाँसिल गरेको टिमले ती शिशु र आमाको उपचार सफल मात्रै गरेनन्, छोरीलाई त ‘फाईटर’को उपनाम नै दिए ।
गर्भावती अवस्थामा पर्याप्त पौष्टिक खानेकुराको अभावमा जन्मेको शिशुमा कुपोषणका लक्षणहरु देखिएका थिए । अन्य बिभिन्न जिवाणुहरुले समेत आक्रमण गरिरहेको ती सबैलाई परास्त गर्दै नयाँ जीवन पाउन सफल भएकोले ती शिशुको नाम फाईटर राखिएको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन् ।
यसरी निकै जोखिमलाई जितेर त्यो पनि निःशुल्क रुपमा उपचार पाएको भन्दै बुबा खगेन्द्र उप्रेतीले खुसी साट्नु भयो ।
बीमाको रकम भुक्तानीमा समस्या
यसरी डेढ महिनासम्म अस्पतालको एनआइसीयूमै राखेर उपचार गराइरहँदा लाखौ रकम खर्च हुन सक्ने थियो । सामान्य अस्पतालको पनि एनआइसीयूमा राखेको एक दिनको मात्रै शुल्क १० देखी २५ हजारसम्म लिने गर्दछन् । त्यसबाहेक अन्य उपचार र सेवाको शुल्कको जोड्दा यो उपचार सम्पन्न गर्दा कुल ३० लाख माथी खर्च हुन सक्ने आंकलन यही क्षेत्रमा काम गरेकाहरुको छ । तर उप्रेतीको शिशुको उपचार अस्पतालले सत प्रतिशत निशुल्क गरिदियो । किनकी यो अस्पतालमा कोशी प्रदेश सरकारले ल्याएको बाल स्वास्थ्य सुरक्षा सम्बन्धीको कार्यक्रम लागू भएको छ । सो कार्यक्रम अन्तर्गत १० वर्ष भन्दा कम उमेरका बालबालिकाको उपचारमा कोशी प्रदेशले सत प्रतिशत छुट दिएको र उपचारमा लाग्ने सबै खर्च नेपाल सरकारको स्वास्थ्य बीमाले व्यहोरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. जयमणि श्रेष्ठले जानकारी दिनुभयो ।
कोशी प्रदेश सरकारले १० वर्ष मुनीका बालबालिकाहरुको निशुल्क उपचार गर्ने कार्यक्रम ल्याएको छ । तर यो कार्यक्रम अन्र्तगत एकजनाले कतिसम्मको सेवा सुविधा लिने भन्नेबारेमा कार्यविधिमा कँहि पनि उल्लेख छैन । संघीय सरकार अन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रममा ३ हजार ५ सय रुपैँया तिर्दा एक लाख रुपैँयासम्मको उपचारमा सेवा लिन पाइन्छ । तर कोशी प्रदेश सरकारले कुनैपनि न्यूनतम शुल्क पनि लिएको छैन । र उपचार गर्दा आउने शुल्कको सीमा पनि निर्धारण गरेको छैन । तर उप्रेतीको जस्तो जटिल स्थितीका वा लामो समय एनआइसीयू वा आइसीयूमा राख्नु पर्दा बिल बढ्न सक्छ । तर यो अस्पतालको समेत नाम जोडेर कोशी प्रदेश सरकारबाट फर्जी बिल बनाएर बढि पैसा भुक्तानी लिइएको भन्दै सरकारलेनै भन्न थालेपछि अस्पतालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बुधबार पत्रकार सम्मेलननै गरेर किओच बाल अस्पताल दमकका निर्देशक डा. नविन ढकालले भन्नु भयो ‘कोशी प्रदेश सरकारले ल्याएको कार्यक्रम अन्तर्गत सेवा दिन भएको सम्झौता बमोजिम उपचारमा आएका बिरामीको उपचार सम्पन्न गरियो । उपचारपछि कुल ९३ लाख ६९ हजार २ रुपैँया तीन पैसा भुक्तानीकालागि पेस भएकोमा सरकारले सो रकममा घटाएर ६४ लाख २८ हजार ६ सय ६ रुपैँया ६५ पैसा मात्रै भुक्तानी गरेको छ । यसबाट अस्पताललाईनै घाटा भइरहेको स्थितीमा यसरी कम रकम भुक्तानी हुनुलाई फर्जी बिल भनी प्रचार गर्नु दुराशयपूणर् अवस्था रहेको छ ।’
त्यसैले यस्ता समस्याको दिगो समाधान गर्न सरकारले कार्यक्रम मात्रै बनाउने भन्दा पनि रियल टाइम क्लाईम एप्रोभल प्रणाली लागु गर्ने र नयाँ कार्यक्रमको सिस्टमका बारेमा अस्पताल र अस्पतालका कर्मचारीहरुलाई समय समयमा सो सिस्टम वा सर्भरका बारेमा तालिम दिइनु पर्छ । यसो भएमा यस खाले दुविधा हट्न सक्ने डा. ढकालको सुझाव रहेको छ ।
कोशी सरकारले ल्याएको १० वर्ष मुनीका बालबालिकाको निशुल्क कार्यक्रम निकै प्रभावकारी छ । यसबाट आर्थिक अभावमा उपचारको पहुँच नभएका परिवारहरुले आफ्नो बालबच्चाको उपचार गराउन सकेका छन् । तर यसको स्पष्ट कार्यविधि नभएका कारण भने विवाद भइरहेको छ । रकम र सेवाको सीमा तोक्दै विज्ञहरुको सुझावका आधारमा यो कार्यक्रमको कार्यविधि बनाउन आवश्यक देखिन्छ ।