बिर्तामोड, ६ भदौ । उपचारका लागि संगै लिएर गएको थुनुवा भागेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी हवल्दार बमबहादुर राईमाथि प्रहरीले कारबाही सुरु गरेको छ ।
प्रहरी हवल्दार राईले उपचारका लागि बिर्तासिटी अस्पताल लिएर गएको अवस्थामा लागुऔषध मुद्धामा पक्राउ दमक नगरपालिका वडा न.३ भुटानी शरणार्थी सेक्टर जी थ्रीका २५ वर्षीय थुनुवा विशाल राई हत्कडी खोलेर मंगलवार दिउँसो फरार भएपछि हवल्दार राईलाई निलम्बनगरी छानविन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ती थुनुवा हतकडी खुस्काएर कसरी भागे भनेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताउनु भयो । मंगलवार दिउँसो ४ बजे पेट दुखेपछि प्रहरीले बिर्तासिटी अस्पतालमा बेड भर्ना गराएर उपचार गराइरहेको अवस्थामा राईले हात दुख्यो हतकडी खुकुलो बनाइदिनु भनेर भन्दा प्रहरी हवल्दार राईले हतकडी खुकुलो बनाइदिएपछि हत्कडीबाट हात खुस्काएर भागेको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले खोजतलास गर्दासमेत राई अझै फेला नपरेको अवस्था रहेको उल्लेख छ । थुनुवा फरार भएपछि सुरक्षा निकायमा समस्या उत्पन्न भएको छ ।
भदौ २ गते राति अन्दाजी ९.३० बजे बिर्तामोड नगरपालिका वडा नम्बर १ पश्चिम बसस्टेण्डबाट प्लाष्टिकसहितको १ ग्राम ४४ मिलिग्राम ब्राउनसुगर सहित राईलाई प्रहरीले पक्राउ गरेको थियो ।