दमक, ६ भदौ / दमक बहुमुखी क्याम्पसको बीएससी चौथो वर्षमा अध्ययनरत गोपाल पौडेलले केही सयमअघि दमक सहित आसपासको क्षेत्रमा पिउन प्रयोग गरिएको पानीको स्थिती कस्तो छ भन्नेबारेमा अनुसन्धान गर्नु भयो । क्याम्पसको प्रयोगशालामै भएको श्रोत साधनको प्रयोग गरेर उहाँले गरेको अनुसन्धानको रिपोर्ट खाद्य प्रयोगशालाको भन्दा पनि बढी विश्लेषणात्मक र विश्वसनीय देखिएपछि सो रिपोर्ट क्याम्पसमा सार्वजनिक गराउनु भयो ।
उहाँका लागि मात्र होइन विज्ञान पढ्ने विद्यार्थीका साथै समग्र क्याम्पसकै नयाँ उपलब्धि बन्यो त्यो रिपोर्ट । जसले सिकाईको आयतन बढाउँदै क्याम्पसको गुणस्तरीय शिक्षाको उचाई बढाउन थप प्रोत्साहित गर्यो । पौडेललाई नयाँ सम्भावनाको ढोका खोलिदिने विज्ञान संकाय क्याम्पसको हृदयस्थलका रुपमा स्थापित छ ।
यहाँका अत्याधुनिक ल्याबहरूमा पौडेलजस्ता विद्यार्थीहरूले वैज्ञानिक अनुसन्धानको गहिराइमा प्रवेश गर्न सक्दछन् । स्नातकोत्तर र पीएचडीका लागि बायोटेक्नोलोजीदेखि रसायनशास्त्रसम्म, भौतिकशास्त्रदेखि जीवविज्ञानसम्मका विभिन्न विधाहरूमा यहाँ शोधकार्य गरिन्छ । शोधकार्यहरूले नेपालको विज्ञान र प्रविधिको विकासमा महत्वपूणर् योगदान पुर्याइरहेका छन् । जसमा एक हुनुहुन्छ राजेन्द्र ढकाल । उहाँ त्यहाँ प्राध्यापन सहित शोधकार्यमा संलग्न रहनुभएको छ । कस्मेटिक, साबुनमा केमिकलले पार्ने प्रभावका बारेमा क्याम्पकै ल्याबमा शोधगर्न पाएकोमा उहाँ खुसी हुनुहुन्छ । ‘यहीँ पढाउँदै यहीँ यस्तो खोज गर्न पाउनु राम्रो अवसर हो ।’- उहाँले भन्नुभयो ।
हालको दमक ९ मा ०३८ सालमा स्थापना भई चार दशकभन्दा लामो आफ्नो गौरवशाली इतिहास बोकेको यो क्याम्पस प्राज्ञिक क्षेत्रमा एउटा ऐतिहासिक उपलब्धि हो । यहाँ अहिले विज्ञान मात्रै नभएर व्यवस्थापन संकायका विद्यार्थीहरूलाई नेतृत्व, नवीनता र रणनीतिक सोचको विकास गराउन समेत महत्वपूणर् योगदान गरिरहेको छ । यहाँका प्राध्यापकहरू विद्यार्थीहरूको सम्भावनालाई उजागर गर्न निरन्तर तल्लिन् छन् । विद्यार्थीहरूलाई भविष्यको व्यवसायिक चुनौतिहरूको सामना गर्न तयार पार्दै उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सफल बनाउने काममा प्राध्यापकहरुको सोच र खोज निरन्तर भइरहेको छ ।
आफ्नै स्रोतबाट क्याम्पस रिसर्च सेन्टरका रुपमा विकसित गरिँदै आएको क्याम्पस प्रमुख यज्ञराज गिरी रामले प्रष्ट्याउनु भयो । सामुदायिक क्याम्पसबाट रिसर्चको कार्य गर्नु चानचुने विषय नभएको उहाँको ठहर छ । ‘४ जनाले पीएचडी गरिसक्नुभएको छ र जम्मा १६ जना पीएचडीको प्रक्रियामा हुनुहुन्छ । शिक्षकको गुणस्तर पहिले बढाएर विद्यार्थीको गुणस्तर बढाउन रिसर्च कार्य अघि बढाएका छौं । यसलाई रिसर्च सेन्टरका रुपमा विकास गर्ने लक्ष्यमा अघि बढेका छौं । ’-उहाँले बेलिविस्तार लगाउनु भयो ।
यो क्याम्पस सन् २०१२ मा पहिलो पटक अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्वालिटी एसुरेन्स एजेन्सी (क्यूएए) प्रमाणित यो गैर लाभकारी सामुदायिक क्याम्पस हो । जुन क्यूएए प्राप्त गर्ने नेपालमा दोस्रो क्याम्पसमा पर्दछ । सन् २०१७ मा विश्वविद्यालय अनुदान आयोग, नेपालबाट यस क्याम्पसलाई दोस्रो पटक पुनः मान्यता प्रदान गरिएको थियो । अहिले क्याम्पसमा नेहेव कार्यक्रम पनि सञ्चालन भइरहेको छ । यसले क्याम्पसलाई अझ आधुनिक, सुविधा सम्पन्न बनाउन मद्यत गरिरहेको कार्यक्रम संयोजक रत्न थापाले उल्लेख गर्नुभयो । उहाँ भन्नुहुन्छ ‘पढ्ने र आय आर्जन गर्ने कार्यक्रम समेत सञ्चालन गर्ने कार्यक्रम अघि बढाइएको छ ।’
समयसँगै क्याम्पसले आफुलाई आधुनिकता र प्रविधिको अनुकूल बनाउँदै एक अत्याधुनिक शैक्षिक संस्थाको रूपमा विकसित भएको छ, जहाँ विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गरिन्छ । यहाँको वातावरण र शैक्षिक सामग्रीहरूले विद्यार्थीहरूलाई सैद्धान्तिक र व्यावहारिक ज्ञानको उत्कृष्ट समिश्रण दिने काम गरिरहेका छन् । यस क्याम्पसमा हासिल गरिएको ज्ञान, केवल शैक्षिक योग्यताको सीमामा मात्र सिमित छैन, यसले विद्यार्थीहरूलाई आत्मविश्वास, नेतृत्व क्षमता र समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा भरिदिएको छ । यहाँको अध्ययन, वातावरण र सांस्कृतिक विविधताले विद्यार्थीहरूलाई सही अर्थमा ‘मानवता’ बुझ्न मद्धत गरेको छ ।
प्राविधिक विषय, पठनपाठनमा प्रविधिको प्रयोग र गुणस्तरीय सिकाईले विद्यार्थीको आकर्षण बढेको छ । क्याम्पसमा व्यवस्थापन संकायमा एमबीएस, बीबीएस, बीएससी, मानवीकितर्फ एमए, बीए, शिक्षातर्फ बीएड र एमएड, प्लस टुमा विज्ञान विषय अध्यापन हुँदै आएको छ । क्याम्पसतर्फ हाल कुल १ हजार १ सय ३२ जना विद्यार्थी अध्ययनरत छन् ।
अनुसन्धानमा आधारित शैक्षिक संस्थाको नवीन र गहकिलो परिचय बनाएको क्याम्पसले मल्टिमिडियाको माध्यमका शैक्षिक शिकाईका गतिविधिहरूलाई समय र प्रविधि सान्दर्भिक बनाएको छ । विश्वविद्यालय अनुदान आयोगको शैक्षिक र भौतिक पूर्वाधारमा सघाउने कार्यक्रम भएपनि शिक्षक कर्मचारीको तलब तथा अन्य खर्चको आर्थिक व्यवस्थापनमा भनें क्याम्पसलाई सहजता छैन । यसखाले अप्ठ्याराका बाबजुद विश्वव्यापी मान्यताप्राप्त सक्षम जनशक्ति उत्पादनमा अधिकतम् प्रयास भइरहेको छ । क्याम्पसले प्राविधिक तर्फका शैक्षिक कार्यक्रमहरू समावेश गर्न शैक्षिक अनुसन्धान प्रकाशन र नवीनताको संस्कृतिलाई प्रोत्साहित गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य समेत राखेको छ ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष ढुण्डीराज भण्डारीले स्वायत्त (अटोनोमस) विश्वविद्यालय बनाउने योजना अघि बढाइएको उल्लेख गर्नुभयो । विद्युतीय समेतको पुस्तकालयको व्यवस्थापन तथा विज्ञानको नेपालकै उत्कृष्ठ ल्याब बनाउँदै लाने कार्यमा योजना बनाएर लागिपरेको उहाँले सुनाउनु भयो ।
क्याम्पस स्थापना गर्न थालिएको पहिलो कदम भनेको स्थानीय समुदायको विश्वास जित्नु र आवश्यक स्रोतसाधन जुटाउनु थियो । प्रारम्भमा केहीले यो प्रयास असम्भव ठाने पनि अभियन्ताहरुले हार मानेनन् । उनीहरूले स्थानीय नेतृत्व, व्यापारी, शिक्षक र समाजका हरेक तह र तप्काका व्यक्तिहरूसँग सहकार्य गरी आर्थिक, भौतिक र नैतिक सहयोग जुटाए । सुवेदार डम्बरबहादुर अधिकारीले १ विगाह तथा अन्यबाट समेत गरेर ३ विगाह ६ धुर जग्गा व्यवस्थापन भएपछि क्याम्पस खोल्ने हुटहुटीमा लागेका अगुवा अभियन्ताहरुलाई सहजता मिल्यो ।
क्याम्पस स्थापनाको संघर्षपूणर् यात्रा आज पनि प्रेरणादायक उदाहरणका रूपमा स्मरण गरिने त्यो बेलाका संस्थापक विद्यार्थी तथा सञ्चालक समितिका पूर्व अध्यक्ष इन्द्र बुढाथोकीले सम्झना गर्नुभयो । उद्योगी, व्यवसायी सहित सवै पक्ष मिलेर क्याम्पस स्थापनामा जुटेको स्मरण गर्नुभयो ।
स्थानीय नागरिकको इच्छाशक्ति, संघर्ष र सामूहिक प्रयासको प्रतिफल हो, दमक बहुमुखी क्याम्पस । जुन आज पूर्वी नेपालको एक प्रमुख शैक्षिक संस्था र दमकको शानका रूपमा अग्लिएको छ ।