नेपाली भलिबल टोलीलाई संघबाट सम्मान

दमक, ८ भदौ नेपाल भलिबल संघले काठमाडौंमा सम्पन्न काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई शनिबार नगद पुरस्कारसहित सम्मान गरेको छ ।

 

संघले टोलीका खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारसहित सम्मान गरेको हो । लिगमा रजतपदक विजेता महिला टोलीका खेलाडी र प्रशिक्षकलाई जनही एक लाख दुई हजार र ब्यवस्थापक र फिजियोलाई जनही ८२ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ । काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल खेलमा भारतसँग ३-२ को सेटमा पराजित हुँदै उपविजेता बनेको थियो ।

 

 

यसैगरी, भुटानमा सम्पन्न काभाविच भलिबलमा महिलातर्फ स्वणर् पदक विजेता महिला भलिबल टिमकी कमला पुन र मनिषा चौधरीलाई जनही ६० हजार तथा प्रशिक्षक उपेष विष्टलाई ४० हजार रुपियाँ र सोही प्रतियोगिातमा पुरुषतर्फ रजत पदक जित्न सफल मानबहादुर श्रेष्ठ र दिल बहादुर सुनारलाई जनही ३० हजार रुपियाँ पुरस्कारसहित सम्मान गरिएको संघले जनाएको छ ।

 

यस्तै कार्यक्रममा माल्दिभ्समा हालै सम्पन्न काभा यु-२० भलिबल तेस्रो स्थान हासिल गरेका नेपाली महिला भलिबल खेलाडीहरू, प्रशिक्षक र टिम व्यवस्थापकलाई जनही १५ हजार रुपियाँ पुरस्कारबाट सम्मान गरिएको छ ।

Share: