दमक, ९ भदौ / रामेछापस्थित दोरम्बाको शैलुङ गाउँपालिका ३ मा शनिबार राति पहिरोले तीन घर पुरिँदा छ जनाको मृत्यु भएको छभने अन्य चार जनाको अवस्था पत्ता लाग्न सकेको छैन । एक जना सख्त घाइते अवस्थामा छन् ।
पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दिप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एघार वर्षीया अञ्जना श्रेष्ठ सख्त घाइते हुनु भएको सो गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले बताउनु भयो ।
घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो ।
पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि बगाएको छ ।