दशगजामा भारतीयले राति बाटो खनेपछि नेपालीबाट रोक

भद्रपुर, ९ भदौ / झापाको कचनकवल गाउँपालिका-१ घेराबारीस्थित नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीले त्यस कार्यलाई रोकेका छन् ।

 

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दशगजा नजिकै सडक खनिएपछि दुवै पक्षबीच विवाद भएको बताउनुभयो । विवाद बढेपछि काम बन्द गरेर छलफल भइरहेको जानकारी उहाँले दिनुभयो ।

 

शनिबार रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल १ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिनुभयो । मान्छे नभएको बेला यसअघि पनि राति-राति बाटो खन्ने गरिएको यसअघि पनि पटक-पटक बाटो खन्न थालिएकोमा रोक्दै आएको उहाँले बताउनु भयो ।

 

हाल राति लुकेर सो स्थानमा करिब १५० मिटर बाटो खनिसकिएको उहाँले जनाउनु भयो । खनिएको बाटो आफुहरुले पुर्ने प्रयास गर्दा उनीहरुले अवरोध गरिरहेको समस्या दर्शाउनु भयो । कचनकवल-१ को वडा कार्यालयदेखि करिब चार सय मिटर बाटो दशगजामा खनिएको उहाँले बताउनुभयो ।

Share: