आरजुलाई नभई नेपाल सरकारलाई भारतले महत्व दिएको हो ( सुनौं भिडियोमा पनि)

गोविन्द थापा

 

अहिले चौतर्फी रुपमा परराष्ट्रमन्त्री आरजु देउवाको भारत भ्रमणमा त्यहाँको संस्थापनले दिएको महत्वको चर्चा भइरहेको छ । भारतको लचिलोपना आरजुका लागि नभइ नेपाल सरकारलाई दिएको महत्वको रुपमा बुझ्नु पर्ने हुन्छ । कतिपयले यो महत्व नेपालको सत्ता गठबन्धनसँग पनि जोडेर हेरेको अवस्था छ । पछिल्लो पटक राणाको भारत भ्रमणको अन्तरकुन्तरका बारेमा करिब २१ मिनेट लामो भिडियोमा उल्लेख गरेको छु ।

 

केही समय अघि नेपाल र छिमेकी देशको समसामयिक राजनीतिका बारेमा भिडियो ब्लग मार्फत आफ्ना धारणा सार्वजनिक गर्दै आएको छु । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आरजुलाई दिएको सम्मान नेपाललाई रिझाउने पहिलो प्रयास हो । बंगलादेश घटनापछि भारत छिमेकका देशहरुबाट आफ्नो प्रभाव र आत्मियता गुम्दै गएको निष्कर्षमा पुगेर परराष्ट्रमन्त्री राणालाई यो विघ्न सम्मान दिएको हो । भारतले यो पनि थाहा छ कि राणा भारतसँग सिधा कुरा गर्न सक्ने प्रधानमन्त्री केपी शर्मा ओलीको क्याविनेटकी एक सदस्य हुन् । २०७२ सालमा संविधान जारी गर्ने प्रक्रियाको विरोध गदै भारतले नाकाबन्दी गर्दा ओलीको अडानका सामु भारतले घुँडा टेकेको थियो । ओली अहिले यस्तो बेलामा प्रधानमन्त्री हुनु भएको छ, जतिबेला दक्षिण एशियाका देशहरुमा भारतले आफ्नो पकड गुमाउदै लगेको छ । बंगलादेश घटनामा अमेरिकाले त्यतो उपद्रो मच्चाउदा भारतले थाहै नपाएको, ढिलो गरी थाहा पाएपनि आफ्नो भूमिका देखाउनै नसकेको देखिन्छ । यो घटनाबाट भारतले छिमेकीलाई छिमेकीकै व्यववहार गर्नुपर्दछ भन्ने सिकेको बुझ्नु पर्छ ।

 

चीनलाई घेर्ने नीति भन्दै अमेरिकाले भारतलाई समेत घेर्ने नीति लियो । परराष्ट्र मन्त्री आरजू देउवा राणाको भारत भ्रमणको अर्थ के हो ? आरजूले त्यति ठूलो महत्व पाउनुको कारण के हो ? मेरो विचारमा चीन व्यापारिक देश हो, शान्तिमा मात्र व्यापार हुने भएकाले चीन शान्तिको पक्षमा उभिन्छ, अमेरिकाले युद्धबाट फाइदा उठाउँछ, त्यसैले अमेरिका युद्ध चाहन्छ ।

 

बंगलादेश घटना र नयाँ विश्व परिस्थितिमा भारत कमजोर भएकै कारण छिमेकीहरुप्रतिको व्यवहारमा नरम भएको हो । अहिले अमेरिकाको एकछत्र राज ओरालो लाग्दै गएको छ । अमेरिकाका लागि चीन ठूलो चुनौती बनेर उपस्थित भएको छ । अमेरिकाको सबै रणनीति चीन विरुद्ध केन्द्रीत देखिन्छ । यो परिस्थितिमा चीनको दक्षिणमा रहेको बंगलादेशमा अनपेक्षित घटना भयो । बंगलादेशको घटनाले दक्षिण एसियाको राजनीतिलाई नयाँ मोडमा ल्याइदियो । बंगलादेशमा भएको आन्दोलनको पर्दा पछाडि अमेरिका छ भन्ने प्रष्ट हुँदै गयो । बंगलादेशको तख्ता पलटमा हिन्द महासागरको किनार क्षेत्रमा बंगलादेश र म्यानमारलाई टुक्राएर नयाँ देश बनाउने अमेरिकी दाउपेचले काम गरेको छ ।

 

बंगलादेशको अस्थिरता, त्यहाँ भएको अमेरिकी खेल र दक्षिण एसियामा चीनलाई घेर्ने नाममा भारतलाई पनि तह लगाउने अमेरिकी रणनीति खुलस्त भएपछि भारत निकै आत्तिएको देख्न सकिन्छ । किनभने बंगलादेशमा अस्थिरता हुनु भनेको भारतलाई सुरक्षा थ्रेट हो । बंगलादेशको उत्तरी क्षेत्रमा भारतका सात राज्य पर्छन् जसलाई सेभेन सिस्टर भनिन्छ । बंगलादेशका कारण सेभेन सिस्टरको सुरक्षामा भारतले खतरा देखेको छ भन्ने कुरा अहिले प्रष्ट देखिँदैछ ।

 

भारतलाई थाहै नदिई बंगलादेशमा अमेरिकाले खेल्यो भन्ने भारतीय बुझाई अब लुकाएर लुक्दैन । बंगलादेशमा भारत जिल्ल परेकै हो । चलनचल्तीको भाषामा भन्ने हो भने बंगलादेशमा भारतलाई अमेरिकाले हेरेको हेरै बनाइदियो । बंगलादेशका कारण भारत ठूलो अप्ठेरोमा परिरहेको छ । यस्तो बेला उसले आफ्ना अन्य छिमेकीहरुलाई साथ लिनुपर्ने भयो ।

 

खासगरी सेभेन सिस्टर राज्यहरुमा नेपालको पनि प्रभाव पर्छ । यही कारण भारतमा नयाँ नियुक्त भएका विदेश सचिव विजय मिश्री नियुक्त हुनासाथ नेपाल आएको हामीले देखिसक्यौं । बंगलादेशका कारण भारतलाई सुरक्षा चुनौती बढ्दै गएको बेला विदेश सचिवले नेपालका परराष्ट मन्त्रीलाई भारत भ्रमणको निम्ता दिइएको हो । आरजूलाई महत्व दिनुको मुख्य कारण बंगलादेश हो भने अर्को कारण विश्व राजनीतिमा भारतको खस्कँदो अवस्था हो ।

 

केही वर्ष यता भारतले अमेरिका, रुस, चीन सबैलाई खेलाउने प्रयास गरिरहेको थियो । नेपालको राजनीतिमा प्रचण्डले जस्तो खालको अवसरवादी भूमिका खेलिरहनुभएको थियो । विश्व राजनीतिमा भारतले पनि प्रचण्डकै शैलीमा खेलिरहेको थियो । यही उछलकूद गर्ने क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसको भ्रमण गर्नुभएको थियो । मोदीले रुस भ्रमण गर्दा अमेरिका सहित पश्चिमा देशहरु रिसाए । त्यसैले उनीहरुले भारतको सुरक्षामा अदृष्य तरिकाले विभिन्न सुरक्षा चुनौति खडा गरिदिए । चेपुवामा परेको अवस्थामा भारतले छिमेकी देशहरुको साथ लिनैपर्ने भयो । यही कारण नेपालका परराष्ट मन्त्रीलाई भारतले विशेष महत्व दियो । बंगलादेश घटनापछि दक्षिण एसियामा भारत निकै अप्ठेरोमा परेको छ । चीन र भारत दुवैलाई एकसाथ तह लगाउने अमेरिकी रणनीति सतहमा आएको छ ।

 

यसले दक्षिण एसियाको राजनीतिमा ठूलो र दूरगामी प्रभाव पर्छ भन्ने मलाई लाग्छ । नेपालमा प्रभाव विस्तार गर्ने अमेरिका र भारतको प्रयासका बारे पनि भन्छु । ०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनपछि जातीय धार्मिक आन्दोलन उठाउने प्रयास भएसँगै नेपालमा अमेरिकी प्रभाव बढेको हो । नेपाल मामिलामा भारतलाई उछिन्ने अमेरिकी रणनीति पहिले पनि देखिएको छ । अहिले आएर नेपाल सहित समग्र दक्षिण एसियामा अमेरिकी प्रभाव आफ्ना लागि घातक भएको भारतले बुझ्यो । भारतीय बुद्धिजीवी तथा कूटनीतिक वृत्तका मानिसहरु यो कुरा खुलेआम भनिरहेका छन् । यो कारण पनि नेपालका परराष्ट मन्त्रीलाई भारतले उच्च महत्व दिएको मेरो बुझाई छ ।

 

भारत आफ्ना छिमेकीहरुप्रति केही नरम भए जस्तो देखिनु यो भारतको नीति नै हो कि रणनीति मात्र हो भन्ने चाहिँ भविष्यमा मात्र प्रष्ट हुन्छ । नेपालमा मुख्य दुई ठूला पार्टीको बलियो सरकार भएकाले पनि परराष्ट्र मन्त्रीलाई भारतले महत्व दिएको हो । भारतले नेपालसँग, विशेष गरी प्रधानमन्त्री केपी ओलीसँग सम्बन्ध सुधार गर्न खोजेको स्पष्ट बुझिन्छ । भारतले आफ्नो नीति र नियत सच्यायो भने सम्बन्ध सुधार हुने छ ।
 (थापा, नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ )

 

Share: