दमक, १० भदौ । झापा र मोरङमा कोरोना उपचारका क्रममा खडा भएका होल्डिङ सेन्टरलाई प्रयोगमा ल्याउने विषयमा कोशी प्रदेश सरकारले छलफल अघि बढाएको छ ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले कोरोनाकालमा सरकारले तीन वर्षअघि खडा गरेका होल्डिङ सेन्टरलाई प्रयोगमा ल्याउने विषयमा छलफल अघि बढाएको बताउनु भएको छ ।
कोरोनाको दोस्रो लहरका बेला नेपाल सरकारले सातै प्रदेशमा एक हजार शय्याको होल्डिङ सेन्टर निर्माण गर्ने क्रममा झापा मेचीनगर–१४ दुहागढीमा २५ करोडको लागतमा सुविधासम्पन्न भौतिक संरचना निर्माण गरेको थियो ।
चार बिगाह क्षेत्रफलमा फैलिएको होल्डिङ सेन्टरमा समान डिजाइनका २२ अत्याधुनिक पक्की भवन छन् भने एक सय शय्यामा अक्सिजन आपूर्ति गर्न सकिने पाइपलाइन समेत जडान गरिएको छ । त्यहाँ २२ वटा शौचालय, १५ वटा डाइनिङ हल, एउटा प्रशासनिक भवन र दुईवटा भान्सा घर निर्माण गरिएका छन् ।
नेपाली सेनाको चारआलीस्थित अरिदम गणले हाल सो होल्डिङ सेन्टरको सुरक्षा र रेखदेख गरिरहेको छ । यति धेरै संरचना निर्माण भएर प्रयोगविहीन रहँदै आएकोमा सर्वत्र चिन्ता व्यक्त हुँदै आएको छ ।
मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले राज्यले करोडौँ लगानी गरेर बनाएको होल्डिङ सेन्टरलाई उपयोगविहीन नबनाउन सरकारसँग पटकपटक आग्रह गरेको बताउनुभयो ।