दमक, १० भदौ । नेपाली महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर झापा बुद्धशान्तिकी ५५ वर्षीया सुशीला उप्रेती तिवारीले मेची–महाकाली मोटरसाइकल यात्रा पुरा गर्नुभएको छ ।
भदौ ५ गते मेचीको बुद्धशान्ति गाउँपालिकाबाट मोटरसाइकल यात्रा सुरू गर्नुभएकी बुद्धशान्ति ३ की तिवारीले पाँचौँ दिन पश्चिमी सीमा महाकालीस्थित कञ्चनपुरको गड्डाचौकी पुगेर यात्रा समापन गर्नुभयो । तिवारीलाई कालिका लाइन्स क्लब महेन्द्रनगरकी अध्यक्ष तथा समाजसेवी हेलन श्रेष्ठले महेन्द्रनगरमा स्वागत गर्नुभएको थियो ।
परापूर्वकालदेखि महिलाले पहिरिँदै आएको गुन्यु चोली लगाउने चलन विस्तारै हराउँदै जान थालेकोमा चिन्ता व्यक्त गर्दै त्यसको जगेर्ना गर्नुपर्ने सन्देश बोकेर मेची महाकाली यात्रामा निस्कनुपरेको उहाँले बताउनुभयो ।