दमक, ११ भदौ । झापामा दैनिकजसो प्रहरीले पक्राउ गर्ने गरेको भएपनि लागुऔषधको कारोबार घटेको छैन । पछिल्लो पटक शिवसताक्षी, दमक र भद्रपुरबाट लागुऔषध कारोबारमा संलग्न ६ जना पक्राउ परेका छन् ।
सोमबार राति ९.५५ बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दुधे चौकमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले झिलझिलेबाट माइधारतर्फ आउँदैं गरेको प्र १-०१-०१५ प ३२२ नम्बरको स्कुटरबाट ट्रामाडोल १७४ क्याप्सुलमध्ये ८ वटा क्याप्सुल प्रयोग गरि १६६ क्याप्सुल बाँकी रहेको, कोलिबान १६० क्याप्सुलमध्ये ६ वटा प्रयोग गरी १५४ वटा क्याप्सुल बाँकी रहेको फेला पारेको छ । सो क्रममा प्रहरीले स्कुटर चालक शिवसताक्षी १० माइधारका २२ वर्षीय दिपेश तामाङ, सोही वडाको झरना चौकका २५ वर्षीय सिमान्त सुब्बा र वडा नम्बर ३ धरमपुरका १९ वर्षीय श्याम दर्जीलाई पक्राउ गरेको छ ।
त्यस्तै, सोमबार दिउँसो १ बजे दमक नगरपालिका ५ का २० वर्षीय अर्जुन कार्कीलाई ट्रामाडोल २०० क्याप्सुल र डिसाइक्लोमिन २०० क्याप्सुल सहित इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।
त्यस्तै, सोमबार साँझ ६.३० बजे भद्रपुर नगरपालिका ५ मेची पुलमा अस्थायी प्रहरी बिट मेची पुल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे. १० प ३२८७ नम्बरको मोटरसाइकलमा रहेका भद्रपुर ८ हस्पिटल चोकका २७ वर्षीय मोहित साहलाई १३ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । साहसँग सोधपुछ गर्ने क्रममा भक्तपुर सूर्यविनायक नगरपालिका ३ का २८ वर्षीय सन्दिप थापासमेत सो कार्यमा संलग्न रहेकाले थापालाई समेत भद्रपुर ८ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताउनु भयो ।