पथरी, ११ भदौ / मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्माले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कार्यक्रम संचालन अनुमतिको लागि अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।
मोरङको पथरी शनिश्चरे -१ पथरी- डाइनिया सिटी टोल विकास समितिद्धारा आयोजित एक संक्षिप्त कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
संसदबाट तलव भत्ता केही नलिने घोषणा गर्नुभएका सांसद् शर्माले आफूले निर्वाचनका समयमा गरेका विकास निर्माण सम्बन्धि प्रतिबद्धताहरू पूरा गर्न लागिपरेको भन्दै आफ्नो कार्यकालभरी भ्रष्टाचार नगर्ने र आफूलाई जिताउने आममतदाताको शीर सधैँ उच्च राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पथरी डायनिया सडक खण्ड अन्तर्गत पथरी शनिश्चरे १ को मन्दिर लाईनदेखि बुद्ध चोकसम्मको करिब १ किलोमिटर लामो सडकमा गत आर्थिक वर्ष २०८०/०८१ मा कालोपत्रे गर्न २ करोड ६० लाख रुपैयाँ बराबरको वजेट विनियोजन गराई बिशेष भूमिका निर्वाह गर्नु भएको भन्दै शर्मालाई टोल विकास समितिले सम्मान गरेको छ । वडा नम्बर -१ का वडाध्यक्ष भीम कुमार राई र टोल विकास समितिका अध्यक्ष कृष्णप्रसाद घिमिरेले उहाँप्रति धन्यवाद सहित आभार प्रकट गर्नुभयो ।
सोही क्रममा वडा अध्यक्ष राईले नगरकै बढि जनसंख्या रहेको आफ्नो वडामा विभिन्न सडकहरू भत्किएर जिणर् अवस्थामा रहेकाले आगामी दिनहरुमा पनि संघीय सरकारबाट बजेट निकासाका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश खड्का, वडा नम्बर १ का वडा सदस्य सुरेश कुमार कार्की, पथरी डायनिया सडक टोल विकास समिति उपाध्यक्ष पोषराज काफ्ले , समाजसेवी लोकनाथ खरेल लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।