काठमाडौँ, ११ भदौ । नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनपछि बाँकी रहेको पदपूर्ति गर्ने क्रममा सचिवमा सवैभन्दा बढी ४१ जना उम्मेदवार बनेका छन् । १०५ जना पोलिटव्यूरो सदस्यका लागि २०२ जनाले प्रतिष्पर्धा गरेका छन् । पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि मंगलबार (आज) अपरान्ह साढे ५ बजेबाट मतदान सुरु हुँदैछ ।
१७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान हुन लागेको हो । उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुँदा वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत बन्नुभएको छ ।
यसअघि दशौँ महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चयन भएपनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुन सकेको थिएन । उसो त केन्द्रीय कमिटीसमेत एकीकृत समाजवादीले केही अघिमात्रै टुंगो लगाएको थियो । केन्द्रीय समिति बैठकबाटै पदाधिकारी र पोलिटब्युरो सदस्य सर्वसम्मत चयन गर्ने प्रयास भएपनि त्यो सम्भव नभएपछि अध्यक्ष माधव नेपालले निर्वाचन प्रक्रियामा जाने निणर्ण सुनाउनु भयो ।
जसअनुसार एकीकृत समाजवादीको महिला उपाध्यक्ष पदमा नेतृहरू रामकुमारी झाँक्री र जयन्ती देवी राईबीच प्रतिस्पर्धा हुने भएको छ ।
उपमहासचिव पदमा मेटमणि चौधरी, लक्ष्मण केसी, राजेन्द्र कुमार राई, जीवनराम श्रेष्ठ, गोमा विष्ट लगायत १९ जनाको उम्मेदवारी परेको छ ।
सचिव पदमा ४१ जनाले उम्मेदवारी दिएका छन् । सचिव (दलित समुदायतर्फ) ३ जनाको उम्मेदवारी परेको छ ।
यसैगरी सचिव (आदिवासी जनजातितर्फ) ३ जना तथा ५ जना निर्वाचित हुने खुला सचिव पदमा २६ जनाको उम्मेदवारी परेको छ । सो पार्टीमा कुल ७ जना सचिव निर्वाचित हुने प्रावधान छ ।