दमक, ११ भदौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा दशैंसम्ममा प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले योजनाका साथ तयारी गरेको छ ।
साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरेको ग्रेडवृद्धि परीक्षाको नतिजा दशैंअगाडि नै प्रकाशन गर्नेगरी तयारी गरेको बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जनाउनु भयो । हाल कापी परीक्षणको काम भइरहेको बताउँदै उहाँले कक्षा ११ को रजिस्ट्रेसन फारामलाई असर नपर्नेगरी नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको उल्लेख गर्नुभयो ।
हाल देशभरका विभिन्न ३४ वटा केन्द्रमा कापी परीक्षणको काम भइरहेको छ । कापी परीक्षण सकिएको क्षेत्रबाट कापी र मार्क बोर्डमा पठाउने समेत काम भइरहेको छ भने वर्षातले गर्दा कतिपय ठाउँमा समस्या समेत भइरहेको छ ।
२०८० सालको एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीलाई ग्रेडबृद्धिको मौका दिइएको थियो ।
त्यसअघि दुई विषयमा मात्रै एनजी आएका विद्यार्थीले ग्रेडबृद्धि परीक्षा दिन पाउने व्यवस्था थियो । तर, तत्कालिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एनजी आएका सबै र अनुपस्थित भएका सबै विद्यार्थीलाई ग्रेडबृद्धि परीक्षा दिन पाउने निणर्य गर्नुभएको थियो । जसमा एनजी आएका तथा अनुपस्थित रहेका दुई लाख ३४ हजारमध्ये दुई लाख नौं हजार ८०४ विद्यार्थीले ग्रेडबृद्धि परीक्षा दिएका थिए ।