दमक, १२ भदौ । नेकपा एकीकृत समाजवादीको पदाधिकारीतर्फको मत गणना सम्पन्न भएको छ । कमिटीको बरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे र महिला उपाध्यक्षमा जयन्ती राईसहितका पदाधिकारी निर्वाचित हुनुभएको छ ।
निर्वाचनमा १७ पदका लागि ६७ जना प्रतिस्पर्धामा थिए । घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्वाचित हुनु भएको छ ।
महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई पराजित गरी जयन्ती राई, मधेसी क्लस्टरबाट रामचन्द्र झालाई पराजित गरी धर्मनाथ साह निर्वाचित बन्नु भयो ।
खुला उपाध्यक्षमा डा.गंगालाल तुलाधर, जग्गनाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी बन्नुभयो । ज्वाला र जोशीबाहेक सबै अध्यक्ष माधवकुमार नेपाल पक्षका रहनु भएको छ ।
उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । आदिवासी जनजातिबाट सचिवमा बलदेव चौधरी र दलिततर्फ गणेश विश्वकर्मा चुनिनुभयो । खुला सचिवमा शेरबहादुर कुँवर, सोम पाण्डे, चन्द्रबहादुर शाही, सावित्रा भूसाल, श्रीनाथ बराल निर्वाचित बन्नुभयो ।
गत असार १६ देखि २० गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा भएको दशौं महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल सर्वसम्मत बन्नुभएको थियो । पहिलो पूर्ण बैठकले चुनावमार्फत् पदाधिकारीको टुंगो लगाएको हो । एकीकृत समाजवादीले पोलिट्ब्युरो सदस्य पनि निर्वाचनबाट चुनेको छ ।