दमक, १२ भदौ । ‘हराएका वर्षहरु’ शीर्षकमा चर्चित सञ्चारकर्मी विद्या चापागाईंको ‘हेर्ने कथा’ कार्यक्रमबाट ३५ वर्षपछि परिवारसँग भेट भएर यसबेला चर्चामा रहनुभएका प्रकाश तामाङलाई चाँडो नागरिकता दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गर्नुभएको छ ।
उत्तरी गोरखाको चीनसँगको सीमा जोडिएको क्षेत्रमा करिब ३५ वर्षअघि पुर्याइका तामाङ हेर्ने कथामार्फत परिवारसँग भेटिएपछि सबैभन्दा पहिले नागरिकताको आवश्यकता रहेको भन्दै प्रधानमन्त्री ओलीले मंगलबार राति नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ओलीका अनुसार गृह सचिव अर्यालले दुई–चार दिन भित्रमै नागरिक दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएको बताउनु भएको छ । सो बारे तामाङलाई पनि जानकारी दिइसकेको छ । तामाङले नागरिकता प्राप्त गरेपछि उहाँलाई आवश्यक सहयोग गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले प्रकाशको कथा हेरिसकेपछि सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘शुभ बिहानी । हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ । नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई÷चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।’
काले भनेर चिनिने १० वर्षको केटो ०४७ सालमा झापाबाट गलैंचा बुन्ने कामका लागि काठमाडौं पुगेको र काठमाडौंमा केही समय बिताएपछि उमेर नपुगेको भन्दै त्यो केटो गलैंचा बुन्ने कामबाट निकालिन्छ । उसलाई टाढा, उत्तरी गोर्खाका मान्छेले भेटाउँछन् र गोठालो काम गर्न भनी २ हप्ताको बाटो हिँडाएर चुम भ्याली लिएर जान्छन् । त्यसपछि ऊ हिमालबाट कहिल्यै घर फर्कन नसकेको विडम्बनापूर्ण अवस्था रह्यो । अर्थात उसले आफ्नो गाउँ ठाउँको नामै विर्सिएको अवस्थामा हेर्ने कथाले उसको कथा प्रशारण गरेपछि झापाका पत्रकार पर्वत पोर्तेलको सहयोगमा आफन्त पत्ता लगाइयो । झापाको तीनकट्ठेबाट हाल भोजपुरमा रहेको परिवारसँग भेटाइदिएको निकै भावुक कथा प्रशारण भएपछि अहिले त्यही केटो अर्थात प्रकाश चर्चामा हुनुहुन्छ ।