सीमा आभास
प्रदिप गिरी भन्नुहुन्थ्यो, हिरो खोज्ने समाज अभागा हो ।
विभिन्न इपिसोडहरू हेरेपछि मलाई लागेको छ– हेर्ने कथाको समूहले उनीहरूको सिद्धान्तभित्र पर्ने एकदेखि डेढ घण्टाभित्रमा कसैको जीवनकथालाई पस्कने मनसायले काम गरेको होला जस्तो देखिन्छ । यसमा कुनै आग्रह र पूर्वाग्रह देखिँदैन ।
अब हामी हेर्नेकथा टिमसँग अपेक्षा गरिरहेका छौँ कि हेर्ने कथा समूहले प्रकाशको जम्मै जिन्दगी जिम्मा लिएर उसलाई आममान्छे बनाइदिनुपर्छ । नत्र किन बोल्यो ! भनेझैँ गर्छौँ । यहि समूहको मिहिनेतले गर्दा सबैले प्रकाशको कथा थाहा पाए । अब उसको परिवार, स्थानीय सरकार, विभिन्न संघसंस्था, राज्यले उसको जिम्मा लिनुपर्ने होइन ?
हेर्नेकथा समूहको काम या उद्देश्य कथा हेराइ दिने हो । सबैको जिन्दगी बनाउने होइन होला । यो मेरो नितान्त व्यक्तिगत बुझाइ हो ।
अस्ति एउटाले मलाई सोधेको थियो– तपाइले कविता लेखेर राज्यलाई के फाइदा ? अनि मैले प्रतिप्रश्न गरेकी थिएँ– तपाईं जन्मिएर यो राज्यलाई के फाइदा भएको छ ?
त्यसपछि त्यो मान्छेसँग मेरो दोहोरो बोलचाल भएको छैन । अहिले हामी यस्तै तर्क गरिरहेका छौँ ।
हेर्नेकथा समूहसँगको आग्रह पनि अभागा आग्रह हो ।
नोटः प्रकाशको कथा प्रधानमन्त्रीजीले पनि हेर्नू भएछ । अब राज्यले समाधान गर्ला नि प्रकाश र प्रकाशहरूको समस्या ।
( विराटनगरकी आभास साहित्यकार तथा समाजवादी विश्लेषक हुनुहुन्छ )